साउदीको सबैभन्दा ठूलो तेल केन्द्रमा आक्रमण, भियतनाममा विष्फोट

१० मंसिर २०८३, बिहीबार
Share this
719shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

साउदी अरेबियाको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र र रियादको वित्तीय जिल्लालाई निशाना बनाइएको हुथी विद्रोहीको दाबी सार्वजनिक भएको छ। आक्रमणपछि रास तनुरा तेल प्रशोधन केन्द्रमा आगलागी भएको उनीहरूले बताएका छन्। यद्यपि, साउदी नेतृत्वको गठबन्धनले यसअघि उक्त क्षेत्रनजिक चारवटा ड्रोन रोकेर नष्ट गरेको जनाएको थियो।

यसैबीच, इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। ट्यांकर पल्टिएर इन्धन पोखिएपछि आगो फैलिएको प्रारम्भिक विवरण छ। त्यस्तै, भियतनामको राजधानी हनोईस्थित हटपट रेस्टुरेन्टमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १४ जनाभन्दा बढी घाइते भएका छन्।

Advertisement

ग्यास चुहावटका कारण विस्फोट भएको आशंका गरिएको छ। घटनापछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी छ। इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्रमा पर्ने वर्राक नाइबरहुडस्थित रिङरोडमा इन्धन ट्यांकर दुर्घटनापछि आगलागी भएको हो । आगलागीमा घाइते भएकाहरूलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ ।

उनीहरूमध्ये केहीलाई जलेको चोट लागेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट भिडियोहरूमा रातको आकाशमा अग्लो ज्वालासहित कालो धुवाँ फैलिएको देखिन्छ ।

आगलागीका कारण घटनास्थल आसपासका केही सवारीसाधनसमेत जलेका छन् । आगलागी कसरी सुरु भयो भन्नेबारे अधिकारीहरूले औपचारिक विवरण सार्वजनिक गरेका छैनन् तर, सरकारी सञ्चारमाध्यमका अनुसार ट्यांकर पल्टिएपछि त्यसबाट पेट्रोल पोखिएर आसपासका सवारीसाधनमा आगो फैलिएको थियो ।

सरकारी अखबार अल–अहरामले अनुसन्धानसँग जानकार स्रोतलाई उद्धृत गर्दै ट्यांकर सडकमा गुडिरहेको बेला अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको जनाएको छ । त्यसपछि ट्यांकर सडकको बीचमा रहेको डिभाइडर पार गर्दै पल्टिएको र आगलागी भएको समाचारमा उल्लेख छ ।

घाइतेहरूलाई जायेद स्पेसलाइज्ड, इम्बाबा जनरल र वर्राक सेन्ट्रल अस्पतालमा उपचारका लागि पु¥याइएको छ। उद्धार तथा राहत कार्यमा ३९ वटा एम्बुलेन्स परिचालन गरिएको थियो। यो दुर्घटना कायरोको इम्बाबा उपनगरअन्तर्गत पर्ने वर्राक क्षेत्रमा भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार गिजाको अल–वर्राक जिल्लामा एउटा सुरुङमाथि आगलागी भएको थियो। रिङ रोड ग्रेटर कायरोका प्रमुख राजमार्गहरूलाई जोड्ने महत्त्वपूर्ण सडक हो। यसले कायरो, गिजा र कल्युबिया प्रान्तलाई जोड्छ। दुर्घटनापछि रातको समयमा आकाशसम्म अग्ला आगोका लप्का देखिएका थिए।

आगो आसपासका कार तथा मोटरसाइकलसम्म फैलिएको थियो। घटनास्थलमा ठूलो संख्यामा मानिसहरू भेला भएका थिए। इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सीसीले घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

घटनाबारे क्षेत्रीय सरकारी अभियोजन कार्यालयले अनुसन्धान सुरु गरेको छ। मृतकहरूको पहिचान सुनिश्चित गर्न शवबाट डीएनए नमुना संकलन गर्नसमेत निर्देशन दिइएको छ । दुर्घटनामा परेको ट्यांकर निजी ठेकेदार कम्पनीको रहेको बताइएको छ ।

इजिप्टमा पछिल्ला वर्षहरूमा आगलागीका कैयौँ घातक घटना भएका छन् । व्यवस्थित आवासीय क्षेत्र, जीर्ण पूर्वाधार, आपत्कालीन उद्धारमा ढिलाइ तथा स्थानीयस्तरमा उपलब्ध साधनबाट गरिने उद्धार प्रयासका कारण आगलागीका घटनामा क्षति न्यूनीकरण गर्न चुनौती हुने गरेको बीबीसीले जनाएको छ ।

उता भियतनामको राजधानी हनोईस्थित एक हटपट रेस्टुरेन्टमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ भने भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य जारी छ।

घटनाको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ। फुटेजमा विस्फोट निकै शक्तिशाली रहेको देखिन्छ। विस्फोटका कारण आसपासका घर तथा भवनका झ्यालहरू फुटेका छन्। मंगलबार हनोईको एक हटपट रेस्टुरेन्टमा भएको विस्फोट ग्यास चुहावटका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

विस्फोटबाट आसपासका घर तथा भवनमा ठूलो क्षति पुगेको छ। अनलाइन समाचार माध्यम भीएन एक्सप्रेसका अनुसार विस्फोटका कारण भवनका झ्याल फुटेका छन् भने भित्तामा चिरा परेका छन्। धातुका सटरहरू फ्रेमबाट उछिट्टिएका छन्।

छानाहरू र अन्य संरचना भत्किएका छन् भने भग्नावशेष सडकभरि छरिएका छन्। विस्फोट यति शक्तिशाली थियो कि आसपासका अपार्टमेन्ट भवनसमेत हल्लिएका थिए। प्रहरीले भग्नावशेषमुनि फसेका जीवित व्यक्तिको खोजी गरिरहेको छ।

उद्धारका लागि खोजी उपकरण तथा कङ्क्रिटका स्ल्याब हटाउन हाइड्रोलिक मेसिन प्रयोग गरिएको छ। विस्फोट हुँदा रेस्टुरेन्टमा मानिसहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ। संरचनात्मक रूपमा असुरक्षित मानिएका आसपासका भवनबाट स्थानीय बासिन्दालाई समेत सुरक्षित स्थानमा सारिएको छ।

हनोई प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ग्यास विस्फोटका कारण भवनको एक भाग भत्किएको थियो। १४ जनाभन्दा बढीलाई अस्पताल लगिएको खबर छ। घाइतेमध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको छ।

स्थानीय २६ वर्षीया लान फुओङले विस्फोटको झट्काले आफू र आफ्नी बहिनी निद्राबाट ब्युँझिएको भीएन एक्सप्रेसलाई बताएकी छन्। विस्फोटका कारण उनीहरूको बाल्कोनीको ढोका उछिट्टिएर करिब तीन मिटर टाढा पुगेको उनले बीबीसाई बताएकी छन ।

उनका अनुसार आफूहरू ओढ्ने ओढेर सुतेका कारण गम्भीर चोट लाग्नबाट जोगिएका थिए। तर विस्फोटले आफूहरू निकै डराएको उनले बताएकी छन्। यता यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको रास तनुरा तेल प्रशोधन केन्द्र र रियादको वित्तीय जिल्लामा आक्रमण गरिएको बताएका छन्।

बीबीसी फारसीका अनुसार हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारीले रिफाइनरीमा आक्रमण भएपछि आगलागी भएको बताएका छन्। उनले रियादको वित्तीय जिल्लालाई तीन चरणमा निसाना बनाइएको दाबी पनि गरेका छन्। रस तनुरा तेल प्रशोधन केन्द्र साउदी अरेबियाको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्र हो र देशको प्रमुख कच्चा तेल निर्यात केन्द्रमध्ये एक हो।

यसअघि साउदी नेतृत्वको गठबन्धनले आफ्नो वायु रक्षा प्रणालीले साउदी अरेबियाको पूर्वी प्रान्तको रास तनुरा नजिकै चारवटा ड्रोनलाई रोकेर नष्ट गरिएको बताएको थियो। यसैबिच समाचार एजेन्सी रोयटर्सले धुवाँको मुस्लोको उपग्रह तस्बिर जारी गरेको छ।

कालो धुवाँले ढाकिएको क्षेत्र लगभग ६०० वर्ग किलोमिटर (२३० वर्ग माइल) रहेको अनुमान गरिएको छ। विश्वकै ठूलो तेल कम्पनी अरामकोले पनि यी आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यी आक्रमणका बीच लाल सागर हुँदै साउदी अरबबाट हुने तेल निर्यातमा हुथी विद्रोहीले लगाएको रोक र होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोधका कारण तेल निर्यातमा देखिएको समस्याबारे नोभेम्बर २९ मा बस्ने ओपेक प्लसको बैठकमा छलफल हुने भएको छ।

हुथीका प्रवक्ताले रियादस्थित फाइनान्सियल डिस्ट्रिक्टमा तीन पटक आक्रमण गरिएको बताएका छन्। साउदी अरबले पनि मंगलबार उक्त क्षेत्रमा भएको आक्रमणमा ११ जना घाइते भएको पुष्टि गरेको थियो। घाइतेमध्ये दुई जना भारतीय नागरिक रहेका छन्।

उक्त क्षेत्रमा रहेको ८० तले भवनमा विभिन्न कम्पनीका मुख्यालय छन्। हुथी विद्रोहीले बुधबार पनि सोही भवनलाई लक्षित गरी आक्रमण गरेका थिए। यसअघि नोभेम्बर १९ मा पनि उक्त भवनमा आक्रमण भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top