रासायनिक हतियारको आरोप इरानले स्वीकारेन, हर्मुजमा २ अमेरिकी ड्रोन खसाल्यो

१० मंसिर २०८३, बिहीबार
Share this
734shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले रासायनिक हतियार निर्माण गरेको आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन् । विदेशमन्त्री अराघचीले बुधबार इजरायलले इरानमाथि रासायनिक हतियार विकास गरिरहेको र लुकाइरहेको भन्ने आरोप लगाएकोमा आपत्ति जनाउँदै त्यो निराधार भएको बताएका छन् ।

उनका अनुसार यस्ता आरोपको उद्देश्य क्षेत्रीय तनाव बढाउनु हो । इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानमाथि रासायनिक हतियार विकास गरिरहेको आरोप लगाएका थिए । उनले इजरायलले इरानलाई त्यस्तो क्षमता हासिल गर्न नदिने बताएका थिए ।

Advertisement

उक्त आरोपको जवाफ दिँदै अराघचीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘इजरायली शासनले आणविक, रासायनिक वा जैविक हतियारमाथि प्रतिबन्ध लगाउने कुनै पनि सन्धिमा सहभागी हुन अस्वीकार गरेको छ । ऊसँग सयौँ आणविक हतियार छन्। उसले यस क्षेत्रका सात देशमाथि आक्रमण गरेको छ भने तीन देशका भूभाग कब्जा गरेको छ । पछिल्लो एक वर्षमा मात्रै उसले इरानविरुद्धका दुई असफल युद्धमा अमेरिकालाई समेत तानेको छ।’

उनले थप भनेका छन्, ‘अब युद्ध भड्काउने त्यही देश निर्लज्जतापूर्वक इरानमाथि आरोप लगाइरहेको छ । इरान आणविक अप्रसार सन्धि (एनपीटी) मा हस्ताक्षर गर्ने देश हो । रासायनिक हतियार प्रतिबन्धसम्बन्धी संगठन (ओपीसीडब्ल्यू) को सदस्य पनि हो । इरान आफैँ पनि रासायनिक हतियारको सिकार भएको देश हो । ती हतियार पश्चिम जर्मनीले सद्दाम हुसेनको शासनलाई उपलब्ध गराएको थियो।’

अराघचीले इजरायलले औषधि उत्पादन गर्ने कारखानामा खतरनाक हतियार निर्माण गरेर लुकाइरहेको आरोपसमेत लगाएको बताए । उनका अनुसार यस्ता अभिव्यक्तिमार्फत इजरायलले अमेरिकालाई पुनः युद्धमा तान्न खोजिरहेको छ ।

यता इजरायलका रक्षामन्त्रीले पनि इरानमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरेका थिएनन् । बरु आफ्नो देशले यसबारे गोप्य जानकारी पाएको र त्यो अमेरिकासंग साझा गरिएको पनि उनले बताएका थिए । र अमेरिका र इजरायलले थप आक्रमणको तयारी गरेको संकेत पनि गरेका थिए ।

यसैबीच यता इरानले हर्मुज जलघाँटीमा आफ्नो हवाई रक्षा प्रणाली प्रयोग गरी अमेरिकी सेनाका दुई मानवरहित विमान (ड्रोन) खसालेको दाबी गरेको छ । इरानी सेनाका अनुसार एमक्यू–९ ड्रोनलाई जलमार्गको पूर्वी र लुकास आत्मघाती ड्रोनलाई पश्चिमी क्षेत्रमा नष्ट गरिएको हो ।

अमेरिकाको सैन्य उपस्थितिको विरोध र इरानमाथि थपिएका आर्थिक प्रतिबन्धका कारण दुई देशबिच तनाव बढिरहेका बेला इरानले यस्तो दाबी गरेको हो । यसैबिच, इरानी सांसद इब्राहिम अजिजीले प्रतिबन्ध र अवरोधको युग समाप्त हुँदै गएको तथा नयाँ विश्व व्यवस्था स्थापित भइरहेको दाबी गरेका छन् ।

त्यस्तै, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले इरानमाथि नौसैनिक नाकाबन्दी लगाउने प्रयास नगर्न अमेरिकालाई चेतावनी दिँदै आफ्नो सेना कुनै पनि नाकाबन्दी वा सैन्य आक्रमणको सामना गर्न तयार रहेको बताएका छन् ।

यसअघि अमेरिकी अर्थ मन्त्रालयले ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत दुई दर्जनभन्दा बढी इरानी मुद्रा विनिमय केन्द्र, अगाडि राखिएका कम्पनी र वित्तीय कारोबारमा संलग्न व्यक्तिमाथि प्रतिबन्ध लगाएको थियो । इरानको अनौपचारिक बैंकिङ सञ्जाल कमजोर पार्ने र विदेशी मुद्रा प्राप्त गर्ने पहुँच सीमित गर्ने उद्देश्यले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नोभेम्बर १४ मा इरानले केशम टापुमा अमेरिकी एमक्यू–१ ड्रोन नष्ट गरेको दाबी गरेको थियो । इरानी अधिकारीहरूले हर्मुजको प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेका केही जहाज समुद्री बारुदी सुरुङमा परेको र तेल ट्याङ्करमा आगलागी भएको आरोपसमेत लगाएका छन् ।

यसैबीच यता इजरायली विपक्षी नेता गादी आइसनकोटको मध्यपन्थी यशर पार्टीले सरकार गठनको प्रयासमा दक्षिणपन्थी इजरायल बेइतेनु पार्टीसँग गठबन्धन गर्ने सहमति गरेको छ । यशर पार्टीले मंगलबार इजरायल बेइतेनुका नेता एभिग्डोर लिबरम्यानसँगको वार्तापछि गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने सहमति भएको जनाएको छ ।

अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा बेन्जामिन नेतान्याहूको लिकुड पार्टीले बहुमत गुमाएपछि नयाँ सरकार गठनको प्रयास भइरहेको छ । कुनै पनि दल वा गठबन्धनले बहुमतका निम्ति आवश्यक ६१ सिट जुटाउन सकेका थिएनन् । नेतान्याहू भने कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम छन् ।

राष्ट्रपति आइज्याक हर्जोगले आइसनकोटलाई सरकार गठनको जिम्मेवारी दिएका छन् । त्यसनिम्ति पाएको २८ दिने समयसीमा डिसेम्बर ६ मा सकिँदै छ । उनले थप १४ दिनको समय माग्न सक्छन् । आइसनकोट असफल भए नेतान्याहूले पुनः सरकार गठनको अवसर पाउनेछन् । दुवै असफल भए अर्को वर्ष निर्वाचन हुनेछ ।

हाल लिकुड र उसका दक्षिणपन्थी तथा अतिरूढिवादी साझेदारसँग संसद्का १२० मध्ये ५३ सिट छन् । आइसनकोट र उनका सम्भावित साझेदारसँग ४८ सिट छन् । प्यालेस्टाइनी अल्पसंख्यकको प्रतिनिधित्व गर्ने दलसँग १९ सिट छन् । ती दलहरूले आइसनकोटको गठबन्धनलाई समर्थन गर्न सक्ने सम्भावना छ ।

राष्ट्रिय सहमतिको सरकार गठनबारे पनि वार्ता भइरहेको छ । तर, यशरले लिकुडसँग वार्ता गरेको भन्दै आठ सिट जितेको वामपन्थी डेमोक्र्र्याट्स पार्टीले आइसनकोटसँगको छलफल स्थगन गरेको छ । पार्टी नेता याइर गोलानले नेतान्याहू सहभागी नभएको र अरब दलहरू समेटिएको सरकारका पक्षमा आफू रहेको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top