हिरासतभित्रै इनमको अर्को सनसनीपूर्ण दाबी

१२ मंसिर २०८३, शनिबार
Share this
814shares

१२ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपालको राजनीति, न्यायालय र सुरक्षा निकायसँग जोडिएको भनिएको इनम सापकोटा प्रकरणले अब अर्को गम्भीर मोड लिएको छ।

उच्च राजनीतिक तथा न्यायिक व्यक्तिहरूसँग अस्वाभाविक सम्पर्क र आर्थिक कारोबारको अनुसन्धानमा तानिएका सापकोटाले प्रहरी हिरासतमै आफूलाई यातना दिइएको, प्रभावशाली व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको र आफूले नबोलेका कुरा बोलेको भन्दै अडिओ सार्वजनिक गरिएको आरोप लगाएका छन्।

Advertisement

आफ्नो जीवन र परिवारको सुरक्षामाथि खतरा रहेको भन्दै उनले राष्ट्रिय मानवअधिकार आयोगको ढोका ढकढक्याएका छन्। उनकी पत्नी कविता पाण्डेले शुक्रबार आयोगमा पाँच पृष्ठ लामो निवेदन दर्ता गराएकी छन्।

आयोगले उजुरी दर्ता भएको पुष्टि गर्दै अब सम्बन्धित सरकारी निकायसँग सोधपुछ र अनुसन्धान अघि बढाउने जनाएको छ।  आयोगले सोमबार हिरासतको अवस्थाबारे जानकारी लिन टोली पठाउने तयारीसमेत गरेको छ।

सापकोटाको दाबीअनुसार उनी असोज १४ गते भारतको नयाँदिल्ली जाने तयारीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचस्थलमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको र आफूसँग रहेका दुई मोबाइल फोन खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उनको आरोप छ।

उनले असोज १४ गतेदेखि १५ गते साँझसम्म कहाँ राखिएको थियो भन्ने जानकारी नदिइएको, परिवारलाई खबर गर्न नदिइएको र विभिन्न व्यक्तिबारे लगातार सोधपुछ गरिएको निवेदनमा उल्लेख गरेका छन्। तर प्रहरीले उनीविरुद्ध विमानस्थलबाहिरको सार्वजनिक सडकमा महिलासहित सर्वसाधारणमाथि अभद्र व्यवहार गरेको आरोपमा पनि अनुसन्धान अघि बढाएको थियो।

यहीँबाट पक्राउको स्थान र घटनाक्रममा विवाद देखिएको छ। प्रहरीले सडकमा भएको घटनाका आधारमा कारबाही अघि बढाएको भनिएको अवस्थामा सापकोटाले आफू विमानस्थलभित्रैबाट पक्राउ परेको दाबी गरेका छन्।

सापकोटाको निवेदनमा सबैभन्दा संवेदनशील आरोप राजनीतिक र न्यायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिइएको भन्ने छ।

उनका अनुसार प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन भनेको थियो।

ती व्यक्तिहरूविरुद्ध बयान दिए आफूलाई छाडिदिने, नत्र आफू र परिवारलाई समेत अप्ठ्यारो पार्ने धम्की दिइएको उनको आरोप छ। आफूले नचिनेका व्यक्तिविरुद्ध पनि बोल्न दबाब दिइएको र अस्वीकार गर्दा झूटा मुद्दा लगाएर लामो समय थुनामा राख्ने चेतावनी दिइएको उनले बताएका छन्।

इनम प्रकरणको चर्चा चुलिनुको एउटा मुख्य कारण सार्वजनिक भएको अडिओ हो। उक्त अडिओमा नेपाली कांग्रेसको आधिकारिकता विवादसँग जोडिएको आर्थिक चलखेल, १८ करोड रुपैयाँको कथित लेनदेन र न्यायिक क्षेत्रसम्म प्रभाव पारिएको आशयका संवाद सार्वजनिक भएका थिए।

सापकोटाले अहिले यही अडिओबारे नयाँ दाबी गरेका छन्। उनका अनुसार प्रहरीले आफूले तयार पारेको लिखित सामग्री पढ्न लगाएर आवाज रेकर्ड गरेको र पछि त्यसलाई काटछाँट गरी सार्वजनिक गरेको हो। आफूले हस्ताक्षर गर्न अस्वीकार गरेको कागजमा आफूलाई जानकारी नभएका कुरा लेखिएको उनको भनाइ छ।

यसअघि नै अडिओ सार्वजनिक भएको विषयमा काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले अनुसन्धान जारी रहेको बताएका थिए। उनले कसैविरुद्ध पनि प्रहरीले आधिकारिक धारणा सार्वजनिक नगरेको र अडिओ कसरी बाहिरियो भन्ने विषय पनि अनुसन्धानकै पाटो भएको बताएका थिए।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल परीक्षणका क्रममा सापकोटासँगको सम्पर्क र विभिन्न व्यक्तिसँगको संवाद भेटिएको विवरण सार्वजनिक भएको थियो। त्यसपछि उनीमाथि अनुसन्धान अघि बढाइएको समाचार आएका थिए।

सापकोटाको एउटा बैंक खातामा एक वर्षको अवधिमा ६ करोड ३१ लाख रुपैयाँ जम्मा भएको देखिएको थियो । कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठबाट मात्रै एक करोड ४२ लाख ५० हजार रुपैयाँ आएको विवरणका समाचारहरु वाहिर आएका थिए ।

यही कारोबारका आधारमा महेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको र सापकोटासँग सम्बन्धित अन्य कारोबारमाथि पनि अनुसन्धान भइरहेको छ। सापकोटाले आफूबाट खोसिएका मोबाइल फोन दुई दिनसम्म अनधिकृत व्यक्तिको हातमा पुगेको र त्यही अवधिमा मोबाइलमा छेडखानी गरी नक्कली प्रमाण सिर्जना गरिएको आरोप लगाएका छन्।

एआईको प्रयोग गरेर कागजात तयार पारिएको र त्यस्ता सामग्रीलाई प्रमाणका रूपमा प्रस्तुत गर्न खोजिएको जानकारी आफूले आफन्त तथा कानुन व्यवसायीबाट पाएको उनको भनाइ छ। सापकोटाले आफ्नो घरमा प्रहरीले गरेको खानतलासीको विवरणसमेत गलत बनाएको आरोप लगाएका छन्।

उनका अनुसार असोज १६ गते प्रहरीले हथकडी लगाएर काठमाडौंको पानीपोखरीस्थित अपार्टमेन्टमा पु¥याएको थियो। घरका कोठा खानतलासी गर्दा खासै केही नभेटिएपछि विमानस्थलमा आफूसँगै रहेको सुटकेसबाट विदेशी मुद्रा निकालेर घरमै फेला परेको भनी मुचुल्का तयार गरिएको उनको दाबी छ।

उनले सुटकेसमा रहेको अमेरिकी डलर र भारतीय रुपैयाँ घरबाट बरामद भएको देखाइएको तथा पत्नीको हस्ताक्षर पहिल्यै खाली कागजमा गराइएको आरोप पनि लगाएका छन्।

सापकोटाले आफूसँग रहेको एक हजार तीन सय अमेरिकी डलर र भारतीय रुपैयाँलाई विदेशी विनिमयसम्बन्धी कसुरका रूपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाएका छन्। उनका कानुन व्यवसायीले नेपाल राष्ट्र बैंकको विदेशी विनिमयसम्बन्धी व्यवस्था देखाउँदै उक्त रकम राख्नु गैरकानुनी नभएको जिकिर गरेको निवेदनमा उल्लेख छ।

सापकोटाको उजुरीपछि राष्ट्रिय मानवअधिकार आयोगको भूमिका महत्त्वपूर्ण बनेको छ। आयोगले उजुरी दर्ता भएको पुष्टि गर्दै अनुसन्धान अघि बढाउने जनाएको छ। आयोगका अधिकारीहरूले हिरासतमा रहेका व्यक्तिको पनि आधारभूत मानवअधिकार हुने र त्यसको संरक्षण भए नभएको जाँच गरिने बताएका छन्।

नेपालको संविधानको धारा २० ले न्यायसम्बन्धी हक सुनिश्चित गरेको छ। धारा २८ ले व्यक्तिको गोपनीयताको हकको व्यवस्था गरेको छ। त्यसैगरी धारा २२ ले पक्राउ परेको वा हिरासतमा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिन नपाइने व्यवस्था गरेको छ।

अपराध अनुसन्धानका नाममा कसैलाई यातना दिन, धम्क्याउन वा इच्छाविपरीत बयान गराउन पाइँदैन। आरोपित व्यक्तिले पनि आफूविरुद्ध उठेका प्रश्नको कानुनी प्रक्रियाअनुसार सामना गर्नुपर्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top