१३ मंसिर , काठमाण्डौ । साउदी अरब र यमनका हुथी समूहबीचको तनाव थप बढेको छ । दुवैले एकअर्कामाथिको आक्रमण जारी राखेका छन् । यसैक्रममा साउदीमा फेरि मिसाइल प्रहार भएको छ । साउदीले शनिबार राजधानी रियादलाई लक्षित क्रुज मिसाइल खसालिएको जनाएको छ । यसअघि हुथी मिडियाले यमनमा साउदी आक्रमणको रिपोर्ट गरेको थियो । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने साउदी–नेतृत्वको गठबन्धनले गत गर्मी याममा यमनको गृहयुद्ध फेरि सुरु भएदेखि हुथी नियन्त्रित क्षेत्रमा नियमित बमबारी गर्दै आएको छ । जवाफमा हुथी लडाकुहरूले तेलका लागि समृद्ध राज्य साउदीमा लगभग दैनिक आक्रमण गर्दै आएका छन्, जसमा ऊर्जा सुविधा, विमानस्थल र रियादको वित्तीय क्षेत्रमा प्रहार भएको छ ।
“हवाइ रक्षा प्रणालीले हुथी आतङ्कवादी मिलिसियाले रियाद क्षेत्रतर्फ प्रहार गरेको क्रुज मिसाइल रोकेर नष्ट गरेको छ,” साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–माल्कीले एक्समा लेखेका छन् । यसैबिच हुथी समाचार एजेन्सी सावाले यमनको हुथी लडाकुहरूको नियन्त्रणमा रहेको राजधानी सानामा साउदी आक्रमण भएको रिपोर्ट गरेको छ । “सानाको अल–तहरीर जिल्लाको बिर अबू शाम्लाह आवासीय छिमेकलाई साउदी शत्रु बलले निशाना बनाएपछि आठ घर र तीन पसल क्षतिग्रस्त भएका छन्,” साबाले टेलेग्राममा पोस्ट गरेको छ । हुथी सञ्चारमाध्यम अल्मासिराका अनुसार यो आक्रमणमा १३ जना घाइते भएका छन् । यस्तै बन्दुकधारीहरूले यमनको दक्षिणी तटमा एउटा मालवाहक जहाज कब्जा गरेका छन् । साउदी अरबले बितेका दुई दिनमा रियाद र देशको दक्षिण क्षेत्रमा हुथीले प्रहार गरेका दुई मिसाइल खसालेको बताएको छ ।बेलायती समुद्री निगरानी एजेन्सी युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार, यमनको तटीय सहर बलहाफबाट करिब १२० किलोमिटर टाढा ‘अनधिकृत मानिस’ले एउटा मालवाहक जहाजमा चढेर त्यो आफ्नो नियन्त्रणमा लिएका छन् । यो घटना अफ्रिकाको हर्न र एडेनको खाडी आसपास डकैती बढिरहेका बेला भएको हो । यसैबिच साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल–मलिकीले हुथी समूहले साउदी अरबको दक्षिणी क्षेत्रतर्फ ब्यालिस्टिक मिसाइल प्रहार गरेको बताएका हुन् । यद्यपि यससलाई वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको उनको भनाइ छ । एक दिनअघि मात्र साउदीका अधिकारीहरूले रियादतर्फ प्रहार गरिएको क्रुज मिसाइल खसालिएको बताएका थिए । हुथी समर्थक सञ्चारमाध्यमले पछिल्लो कारबाही साउदीले गरेको हवाई आक्रमणको बदला भएको उल्लेख गरेका छन् ।
यसैबिच हुथी आन्दोलनसँग सम्बद्ध यमनी सशस्त्र बलका प्रवक्ता याह्या सारीले साउदी सेनाले विगत २४ घण्टामा सानासहित यमनका नौ प्रान्तमा १०४ हवाई र क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन् । उनका अनुसार, लक्षित क्षेत्र अल–जौफ, ताइज, इमरान, हज्जा, सादा, अल–हुदयदाह, लाहज, अल–बैदा र अल–धाले थिए । यमनी सञ्चारमाध्यमका अनुसार, साउदीका युद्धक विमानहरूले ताइज, अब र सानामा पावर प्लान्ट, ग्यास प्रतिष्ठान र इन्धन भण्डारण सुविधामा पनि आक्रमण गरेका छन् । रिपोर्टअनुसार, मोखा पावर स्टेसनलाई फेरि निसाना बनाइएको छ । जसका कारण ग्यास प्रसारण र वितरण सुविधामा पनि क्षति भएको छ । यसैबीच साउदी अरबको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपालसहित विभिन्न देशका एयरलाइन्सले साउदी अरबका गन्तव्यमा हुने उडान स्थगित तथा रद्द गर्ने क्रम जारी राखेका छन् ।

नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि साउदी अरबका विभिन्न गन्तव्यमा उडान स्थगन गरेका छन् । अक्टोबरमा रियाद विमानस्थललाई लक्षित गरी भएको आक्रमणपछि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले साउदी अरबका गन्तव्यमा उडान रद्द तथा स्थगन गरेका थिए । विमानस्थल पुनः सञ्चालनमा आए पनि साउदी अरबको नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिनुपर्ने व्यवस्थालगायत सुरक्षा प्रतिबन्धका कारण उडान अवरोध लम्बिएको थियो । नेपाल एयरलाइन्सले साउदी अरबको दमामका लागि हुने काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान पटकपटक रद्द गर्दै आएको छ ।
निगमले पछिल्लोपटक यही नोभेम्बर २८ र २९ तारिक (मंसिर १२ र १३ गते) काठमाडौं–दमाम–काठमाडौं उडान रद्द गरेको छ । उडानको अर्को मिति पनि सार्वजनिक गरिएको छैन । निगमले जारी गरेको सूचनामा साउदी अरबको वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर यात्रुको सुरक्षाका लागि उडान रद्द गरिएको उल्लेख छ । प्रभावित यात्रुलाई टिकटको मिति निःशुल्क परिवर्तन गर्न वा टिकट रद्द गरेर पूर्ण रकम फिर्ता लिन सकिने व्यवस्था गरेको निगमले जनाएको छ । उता भारतका प्रमुख एयरलाइन्सले पनि साउदी अरबका विभिन्न गन्तव्यमा उडान स्थगनको अवधि थप गरेका छन् । अकासा एयरले रियाद र जेद्दाहका उडान स्थगनको अवधि थप गरेको छ ।
अकासा एयरलाइन्सले रियादका लागि हुने उडान जनवरी ३१, २०२७ सम्म र जेद्दाहका लागि हुने उडान जनवरी १०, २०२७ सम्म स्थगित गरेको जनाएको छ । यसअघि अकासा एयरले दुवै गन्तव्यका उडान नोभेम्बर ३० सम्म स्थगित गरेको थियो । यात्रु र चालक दलको सुरक्षा प्राथमिकतामा राख्दै यात्रुलाई समयमै जानकारी दिन तथा यात्रा पुनःतालिका मिलाउन वा रकम फिर्ता लिन सहज होस् भन्ने उद्देश्यले अवधि थप गरिएको एयरलाइन्सले जनाएको छ । एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले पनि रियाद र दमामका उडान नोभेम्बर ३० सम्म स्थगित गरेका छन् । क्षेत्रीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै दुवै एयरलाइन्सले उडान स्थगनको अवधि बढाएका हुन् । भारतको इन्डिगो एयरलाइन्सले पनि साउदी अरबका जेद्दाह, मदिना, रियाद र दमामका उडान नोभेम्बर ३० सम्म स्थगित गरेको छ ।
यमनका हुथी विद्रोहीले साउदी अरबका विमानस्थल र अन्य पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। पछिल्ला आक्रमणमा एक नेपालीको मृत्यु भएको छ भने तीन नेपाली घाइते भएका छन् । साउदी अरबमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत छन् । उडान अवरोधका कारण नेपाल फर्कन चाहने तथा नेपालबाट साउदी अरब जान चाहने यात्रु प्रभावित भएका छन् । यसैबीच उता इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुखाबरले इराकलाई ‘ट्रम्पको हातको औजार’ नबन्न चेतावनी दिएका छन्। मुखाबरले शनिबार सामाजिक सञ्जाल एक्समार्फत उक्त चेतावनी दिएका हुन् । अमेरिकाको दबाबपछि इराकले इरानसँगका धेरै सीमा नाका बन्द गरेको रिपोर्ट आएपछि उक्त अभिव्यक्ति आएको हो ।
करिब तीन हप्ताअघि इराकका विदेशमन्त्री फुवाद हुसेनले अल जजिरालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘अमेरिकी वित्त विभागले बगदादलाई इरानसँगका सबै सीमा नाका बन्द गर्न औपचारिक रूपमा अनुरोध गरेको थियो। केवल दुईवटा नाका खुला राख्न भनिएको थियो।’ फुवाद हुसेनले इरान र इराकबिचको वार्षिक व्यापार १५ देखि १८ अर्ब डलर रहेको बताएका छन् । उनले चेतावनी दिँदै भनेका थिए, ‘सीमा नाकाहरू बन्द गर्दा इराकमा गम्भीर आर्थिक प्रभाव पर्न सक्छ।’ अमेरिकाले जुलाईदेखि इरानी बन्दरगाहहरूको समुद्री नाकाबन्दी पुनः सुरु गरेको छ। इरानको भूमि सिमाना र क्यास्पियन सागर हुँदै हतियार र तस्करीका सामान ओसारपसार सीमित गर्ने उद्देश्यले यस महिना एक विशेष कार्यदल गठनको घोषणा पनि गरेको छ ।
इरानी बन्दरगाहहरूमा नाकाबन्दीले छिमेकी देशहरूसँगको इरानको भूमि सिमानाको महत्त्व बढाएको छ । यी मार्गहरूले सामानको आपूर्ति कायम राख्न र व्यावसायिक गतिविधिहरू निरन्तरता दिन मद्दत गर्छन् । यसैबीच इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले शुक्रबार उक्त जानकारी दिएको हो । अमेरिकी सेनाका अनुसार बिहीबार सैन्य विमानबाट पलाउको झण्डा बोकेको ‘एमभी प्यासिफिक आर्चर’ जहाजको पछिल्लो भागमा सटीक हतियार प्रहार गरिएको थियो । प्रहारपछि जहाजको इन्जिन तथा सञ्चालन प्रणाली निष्क्रिय भएको र त्यसमा सवार सर्वसाधारण चालक दलका सदस्यहरू सुरक्षित रहेको जनाइएको छ ।सेनाका अनुसार उक्त जहाज इरानको बन्दर अब्बास बन्दरगाहबाट निस्किएपछि अमेरिकी नाकाबन्दी उल्लंघन गर्दै अघि बढ्ने प्रयासमा थियो ।
जहाज ट्र्याकिङ वेबसाइटहरूले यसको गन्तव्य सिंगापुर रहेको देखाएका छन् । यसैबिच, इरानी नौसेनाका प्रमुख शाहराम इरानीले शुक्रबार सरकारी टेलिभिजनमार्फत अमेरिकी नाकाबन्दी तोड्ने र क्षेत्रीय जलक्षेत्रबाट शत्रुलाई हटाउने उद्देश्यले अभियान सञ्चालन गर्ने बताएका छन् । अमेरिकाले गत अप्रिलदेखि इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी लगाउँदै आएको छ । तेहरानसँगको वार्ताका क्रममा गर्मीयाममा केही समय हटाइएको नाकाबन्दी जुलाईमा पुनः लागू गरिएको थियो । अमेरिकी सेनाका अनुसार नाकाबन्दी पुनः सुरु भएयता १५८ व्यापारिक जहाजलाई बाटो परिवर्तन गराइएको छ ।
प्यासिफिक आर्चर यस नाकाबन्दीअन्तर्गत निष्क्रिय बनाइएको कम्तीमा १५औँ जहाज हो । यसअघि नोभेम्बर ७ मा अर्को जहाजलाई निष्क्रिय बनाइएको थियो । यस घटनाले अमेरिका र इरानबिचको तनाव पुनः बढ्न सक्ने चिन्ता थपिएको छ । यसअघि जुनमा अमेरिकी सैन्य कारबाहीमा गिनी–बिसाउको झण्डा बोकेको एक ट्यांकरका तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।



