एमभी दुगड ग्रुपले नेपालमा भित्र्याउँदै चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘KAIFENG’, तीन मोडल आउने

१३ मंसिर २०८३, आइतबार
Share this
695shares

चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘KAIFENG’ नेपाली बजारमा प्रवेश गर्ने भएको छ। एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालिले नेपालका लागि KAIFENG ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी पाएको छ। कम्पनीले नेपाली बजारमा तीनवटा विद्युतीय सवारीसाधनका मोडल ल्याउने तयारी गरेको छ।

Advertisement

KAIFENG चीनमा आधारित अटोमोटिभ ब्रान्ड हो। कम्पनीले विद्युतीय सवारीसाधनको उत्पादन, अनुसन्धान तथा विकास, स्पेयर पार्ट्स, निर्यात र ओईएम सेवामा काम गर्दै आएको जनाएको छ। कम्पनीको उत्पादन कारखाना चीनको जियाङ्सु प्रान्तस्थित डानयाङ सहरमा रहेको छ। त्यस्तै, नान्टोङ र सांघाईमा संयुक्त प्राविधिक अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा रहेको कम्पनीको विवरणमा उल्लेख छ।

कम्पनीले नेपालसहित पाकिस्तान, इजिप्ट, टर्की, इथियोपिया, इरिट्रिया, श्रीलंका, कंगो, नाइजेरिया र म्यानमारलगायतका देशमा आफ्नो बजार विस्तार गरेको जनाएको छ।

Advertisement

नेपालका लागि आधिकारिक वितरक बनेको दुगड अटो क्लिनिकले काठमाडौंको पानीपोखरीमा बिक्री कक्ष र बालाजुमा बिक्रीपछिको सेवा केन्द्र स्थापना गरिसकेको छ। आगामी दिनमा एमभी दुगड ग्रुपका नेपालभर रहेका १६ वटा अटोमोबाइल आउटलेटबाट पनि बिक्री तथा सर्भिस सेवा उपलब्ध गराउने तयारी भइरहेको कम्पनीका बिजनेस हेड नवीन फुयालले जानकारी दिएका छन्।

नेपालमा तीन मोडल उपलब्ध गराउने तयारी

KAIFENG ले नेपाली बजारमा तीन फरक प्रयोजनका विद्युतीय सवारीसाधन ल्याउन लागेको छ।

१. KF5039 EV Electric Commercial Van

यो १४ सिट क्षमताको विद्युतीय यात्रुवाहक भ्यान हो। यसमा ६२.२ किलोवाट आवर क्षमताको LFP ब्याट्री र ८० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ३५० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। यसमा ABS, EPS, TPMS, सेन्ट्रल लक, १०.१ इन्चको मल्टिमिडिया टचस्क्रिन, रियर भ्यु क्यामेरा, पार्किङ सेन्सर, डीसी फास्ट चार्जिङ, एयर कन्डिसन र इलेक्ट्रिक विन्डोजलगायतका सुविधा छन्।

२. KF1021 EV Electric Light Truck

व्यावसायिक सामान ढुवानीलाई लक्षित गरी ल्याउन लागिएको यो विद्युतीय लाइट ट्रकमा ४१.८६ किलोवाट आवर क्षमताको CATL ब्याट्री र ७० किलोवाटको मोटर रहनेछ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा २९० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ। यस ट्रकको कार्गो बोक्ने क्षमता १.५ टन रहेको छ भने यसमा १९५/७० R15 साइजका टायर प्रयोग गरिएको छ।

३. KFD01 EV Electric Passenger Car

यो पाँच सिट क्षमताको विद्युतीय यात्रुवाहक कार हो। यसमा ३१.९५ किलोवाट आवर क्षमताको LFP ब्याट्री र ४५ किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज दिन सक्छ।

यसमा ABS, EBD, EPS, एयरब्याग, एयर कन्डिसन, हिटर, मल्टिमिडिया टचस्क्रिन, रियर भ्यु क्यामेरा, पार्किङ सेन्सर, लेदर सिट, इलेक्ट्रिक विन्डोज र डीसी फास्ट चार्जिङलगायतका सुविधा उपलब्ध हुनेछन्। कारको ग्राउन्ड क्लियरेन्स १७० मिलिमिटर रहेको छ।

तीन फरक प्रयोजनका सवारीसाधनमार्फत KAIFENG ले नेपाली विद्युतीय सवारी बजारमा उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको देखिन्छ। यात्रुवाहक भ्यान, सामान ढुवानी गर्ने लाइट ट्रक र निजी प्रयोगको प्यासेन्जर कार गरी तीनै प्रकारका विकल्प नेपाली ग्राहकले पाउनेछन्। एमभी दुगड ग्रुपको बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्ने योजनाले ब्रान्डको बजार प्रवेशलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। यद्यपि, यी सवारीसाधनको नेपाली मूल्य, बिक्री सुरु हुने मिति र आधिकारिक वारेन्टी विवरण भने सार्वजनिक हुन बाँकी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top