नेपाली महिला फुटबल टोली चीन प्रस्थान, उतैबाट म्यानमार जाने

काठमाडौँ,कात्तिक ९
ओलम्पिकको एशियन छनोट खेलमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज अपराह्न चीन प्रस्थान गरेको छ ।

चीनमा रहँदा नेपाली टोलीले तीनवटा मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ । चीन गएको टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक र दुई अफिसियल छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् ।

एन्फाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ओलम्पिक छनोटको तयारीका लागि आज चीन भ्रमणमा जान लागेका महिला फुटबल टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शुभकामाना दिँदै बिदाइ गरे ।

नेपालले चीनमा रहँदा कात्तिक १२ र १४ गते बेइजिङ फोनिक्स महिला फुटबल टोली तथा १३ गते बेइजिङ स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यतैबाट नेपाली टोली कात्तिक १६ गते म्यानमा प्रस्थान गर्नेछ ।

ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले कात्तिक २२ गते भारतसँग, २५ गते म्यानमा र २७ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि बिहीबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले ओलम्पिक छनोटको तयारीमा रहेको राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको थियो ।

नेपाली टोलीको गोलकिपरम एन्जिला तुम्बोप्पो सुब्बा, रुपा रानामगर, लिला लाम्गाडे, डिफेन्डरमा गीता राना, रञ्जना दर्जी, हीराकुमारी भुजेल, मनमाया लिम्बू, अमृता जैसी, मेनुका गिरी, कविता धिमाल, पुनम मगर, मिडफिल्डरमा रेनुका नगरकोटी, दीपा राई, इन्दिरा राई, विमला चौधरी, दीपा अधिकारी, अनिता बस्नेत, दीपा न्यौपाने, स्ट्राइकरमा अनिता केसी, सावित्रा भण्डारी, निरु थापा र शर्मिला थापा छन् । रासस

Scroll to Top