कर्मचारी नियुक्तिमा सरकारको चलखेल: सिँचाइमन्त्री अर्थमै धर्ना, प्रधानमन्त्रीको यस्तो दबाब

१ पुस ७४, आइतबार

शेरबहादुर देउवा सरकारका केही मन्त्रीले जाँदाजाँदै व्यक्तिगत तथा पार्टीगत आग्रहमा निकटस्थ व्यक्तिहरूलाई विभिन्न पदमा राजनीतिक नियुक्ति दिलाउन दबाब दिन थालेपछि मन्त्रालयका सचिवहरू अन्योलमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ भइसक्दा मन्त्रीहरूबाट दबाब आउन थालेपछि केही सचिव बिदामा बस्न थालेका छन् भने केहीचाहिँ विभिन्न बहाना बनाउँदै हाजिर गरेर ‘कार्यक्रम छ’ भन्दै निस्कन थालेका छन् ।

‘मन्त्रीको दबाबले सचिवहरू अन्योलग्रस्त र आतंकित हुनुहुन्छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले भने, ‘उहाँहरू उकुसमुकुस हुँदै कहिले यता, कहिले उता गरिरहनुभएको छ । उहाँहरूले आफ्नो पीडा मुख्यसचिव लोकदर्शन रेग्मीलाई पनि सुनाएका छन् ।’

Advertisement

सञ्चारमन्त्रीको दबाब
दबाब दिने मन्त्रीमध्येका एक हुन्, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत । उनले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाएर आफूनिकट अनिल झालाई नियुक्ति दिलाउन सचिव केदारबहादुर अधिकारीलाई दबाब दिएका हुन् । मन्त्रालयका स्रोतका अनुसार मन्त्री बस्नेतले झालाई नियुक्ति दिनेगरी आवश्यक कागजात तयार पार्न सचिव अधिकारीलाई अह्राएका छन् । मन्त्री बस्नेत भने आफूहरूले नियम र कानुनअनुसारै काम गरेको दाबी गर्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले लुम्बिनी विकास कोषको सदस्यसचिव र पशुपति क्षेत्र विकास कोषको बोर्ड सदस्य र तारागाउँ विकास समितिको कार्यकारी निर्देशकमा आफूनिकटका व्यक्ति राख्न सचिव महेश्वर न्यौपानेलाई दबाब दिएको गुनासो मुख्य सचिवसमक्ष आएको प्रधानमन्त्री कार्यालयका एक सचिव बताउँछन् ।

Advertisement

महाप्रबन्धक नियुक्ति गर्न  दबाब 
पशुपंक्षी विकास मन्त्रालय सचिव डा. विश्वनाथ ओलीले पनि आफूमाथि अनावश्यक नियुक्तिको दबाब आएको बताएका छन् । ‘दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्तिका लागि आवश्यक प्रस्ताव तयार गर्न दबाब आएको छ’, उनले भने, ‘तर मैले सरकार परिवर्तन हुनै लाग्दा नयाँ नियुक्ति प्रक्रिया बढाउन नहुने सुझाव दिएको छु ।’

सिँचाइमन्त्री अर्थमै धर्ना 
सिँचाइमन्त्री सञ्जयकुमार गौतम बाढीपीडितका लागि भन्दै सात अर्ब रुपैयाँ निकासा गराउन अर्थ मन्त्रालयमा आफैं गएर धर्ना बस्न थालेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्री गौतम आफैं अर्थ मन्त्रालयमा गएर सात अर्बको टिप्पणी फाइल सदर गर्न मन्त्रालयका अधिकारीहरूलाई दबाब दिएका छन् । यसैगरी कृषि विकास, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा समाज कल्याण, वन तथा भूसंरक्षण, भूमिसुधार तथा व्यवस्था, ऊर्जा, युवा तथा खेलकुद मन्त्रालयमातहत रहेका विभिन्न सार्वजनिक संघ, संस्थान तथा विकास समितिका बहाल पदाधिकारीलाई मिलेसम्म हटाएर नयाँ राख्ने र रिक्त सबै निकायमा नियुक्ति दिलाउने गरी मन्त्रीहरूले प्रस्ताव तयार पार्न लगाइरहेको गुनासो प्रधानमन्त्री कार्यालय आइपुगेको एक सचिवले बताएका छन् ।

​प्रधानमन्त्री आफैं
प्रधानमन्त्री देउवा आफैंले राष्ट्रिय बिमा संस्थानको प्रमुखमा आफ्ना सुरक्षा सल्लाहकार गणेशराज कार्कीलाई नियुक्त गर्न अह्राएका छन् । देउवाकै रुचिमा कर्मचारी सञ्चय कोषको कार्यकारी प्रमुखमा दीपक रौनियारलाई नियुक्ति गर्न आवश्यक प्रस्ताव तयार पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top