विराटनगर : विराटनगर महानगरपालिकाको फोहोर ब्यबस्थापन गर्ने ठेक्का पाएको वेष्ट म्यानेजमेन्ट ग्रुपका कर्मचारी आन्दोलनमा उत्रिएपछि विराटनगरका सडकहरुमा फोहोर थुप्रिएको छ । तिहार लगत्तै ठेकेदार कम्पनीका २ सय ५० मजदुर काम छाडेर आन्दोलनमा उत्रिएपछि सडकमा फोहोर थुप्रिएको हो ।
करार सेवामा कार्यरत मजदुर दशैँ भत्ता माग गर्दै आन्दोलनमा उत्रिएपछि आईतबारदेखि महानगरको फोहोर उठ्न छाडेको हो । ठेकेदार कम्पनी वेष्टे म्यानेजमेन्ट गु्रपका सञ्चालक देवी आचार्य मजदुरले सुरु गरेको आन्दोलनले आईतबारदेखि फोहोर उठाउने कार्य प्रभावित भएको बताउँछन् ।
उनका अनुसार घाटामा सञ्चालन भईरहेको कम्पनीले कामदारलाई दशैँभत्ता दिएको छैन । तर मजदुरले दशैँभत्ता पाउनुपर्ने माग गर्दै आईतबार देखि फोहार उठाउन छाडेका हुन् ।
हामी दशैँभत्ता दिन सक्ने अवस्थामा छैनौँ – उनले भने । उनका अनुसार कार्यरत मजदुर मध्ये आधा आंशिक र आधा पुर्णकालिन छन् । आंशिकलाई ८ हजार र पुर्णकालिनलाई १५ हजार रुपैँया पारिश्रमिक उपलब्ध गराइँदै आएको छ ।
विराटनगर महानगरपालिकाले ठेकेदार कम्पनीलाई मासिक ११ लाख ४० हजार रुपैँया दिँदै आएको छ ।,आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।