काठमाडौं, कात्तिक २७
टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत म्यानमारमा जारी एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार नेपाल र बंगलादेश भिड्दैछन् ।
सो खेलमा बंगलादेशलाई पराजित गरे नेपाल दोस्रो चरणका लागि छनोट हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्न लागेको हो ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा उत्कृष्ट सुरुवात गरेको नेपालले भारत र म्यानमारसँग १–१ को बराबरी गरेको थियो । तर, बंगलादेशले समूहको अन्य खेलमा भने फराकिलो हार बेहोरेको छ ।
पहिलो दिनको खेलमा म्यानमारले बंगलादेशलाई ५–० ले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतले ७–१ को भारी अन्तरले पाखा लगाएको थियो । यस नतिजासँगै म्यानमार २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने समान अंक बोकेको भारत गोलअन्तरमा दोस्रो र नेपाल तेस्रो स्थानमा छ । अंकविहिन बनेको बंगलादेश तालिकाको पुछारमा छ ।
पहिलो खेलमा निरु थापाले ११ औं मिनेटमा गोल गर्दा भारतकी कमला देवीले ३७ औं मिनेटमा गोल फर्काएकी थिइन् । दोस्रो खेलमा नेपालले म्यानमारविरुद्ध दोस्रो मिनेटमा नै सावित्रा भण्डारीको पेनाल्टी गोलमा अग्रता लिएको थियो । तर त्यसको १० मिनेट नबित्दै गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले कर्नरमा आएको बललाई रोक्न नसक्दा म्यानमारले बराबरी गोल फर्कायो ।
नेपालले अग्रता लिएपनि त्यसलाई बचाउन नसक्दा ओलम्पिक छनोटमा जित दर्ता गर्न सकेको छैन । यद्यपी भारत र म्यानमार नेपालभन्दा बलिया टोली हुन् । दुवै खेलमा बराबरी हुँदा पनि नेपालको छनोट हुने सम्भावना बलियो नै रहेको छ । अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ ।
प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने एन्फाले जनाएको छ । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ ।
बंगलादेशलाई हराए नेपाललाई समूह उपविजेता बन्न म्यानमार र भारतको खेलमा जित–हारको नतिजा आउनुपर्ने आवश्यकता छ भने भारत–म्यानमार गोलरहित बराबरी भएको खण्डमा नेपाल समूह विजेता हुनेछ । तर नेपालले बंगलादेशलाई भने पराजित गर्नैपर्छ । बंगलादेशले पनि नेपाललाई पराजित गरे दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ ।