ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा प्रवेश,बंगलादेशसँग बराबरी

ओलम्पिक छनोट : नेपाल दोस्रो चरणमा प्रवेश,बंगलादेशसँग बराबरी

विराटनगर, कात्तिक २७
टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल र बंगलादेशको खेल १–१ को बराबरी भएपछि नेपाल दोस्रो चरण पुग्ने पक्का भएको छ ।

म्यानमारको यांगोनस्थित थुनुवा रंगशालामा भएको खेलमा नेपालले कप्तान निरु थापाको गोलमा अग्रता लिएको थियो । उनले १७ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

तर दोस्रो हाफको इन्ज्युरी समयमा नेपालले गोल खाएपछि लगातार तेस्रो खेल बराबरीमा चित्त बुझाउनु पर्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा अखि खातुनले बराबरी गोल फर्काएकी थिइन् ।

सुरुवाती दुई खेलमा भारत र म्यानमारसँग नेपालले ३ खेलमा ३ अंक जोड्दै छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको हो । नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ ।

यस खेलको नतिजाले नेपालको स्थान परिवर्तन नहुने भएपनि नेपाल उत्कृष्ट २ तेस्रो स्थानको टोलीमा पर्दै छनोट भएको हो । समूहमा भारत र म्यानमारको खेल भने केहिबेरमा हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणमा स्थान बनाउन सफल भएको हो ।

समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट २ टोली अर्को चरणमा पुग्ने प्रावधान छ । यसका अनुसार नेपाल समूह विजेता वा उपविजेता नबनेपनि उत्कृष्ट दुई तेस्रो टोलीको हिसाबले दोस्रो चरणमा पुग्ने भएको हो । भारत र म्यानमार पनि समूहमा शीर्ष दुई टोलीमा पर्दै छनोट भएका हुन् ।

सन् २०२० मा हुने टोकियो ओलम्पिक छनोटमा १८ देशको सहभागिता छ । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली र अन्य दुई उत्कृष्ट तेस्रो हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणका खेलहरु अप्रिलमा हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.