काठमाडौं, मंसिर १
एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷०७५ को लागि १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको छ ।
शुक्रबार बसेको बैंकको ३७७औँ सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई सो लाभांश वितरण गरिने जनाईएको छ ।
बैंकले आर्थिक वर्ष २०७४/०७५ मा कर्जा सापटीतर्फ ६१ प्रतिशतले वृद्धि गरी १३९ अर्ब तथा निक्षेप तर्फ ५८ प्रतिशतले वृद्धि गरी १६३ अर्ब रुपैयाँ संकलन गरेको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेका अनुसार सो अवधिमा बैंकको नाफा १७० प्रतिशतले बढेर ७५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ ।