विराटनगर, मंसिर १
सातौं कर दिवसका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ । आन्तरीक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको समृद्धि, कर समृद्ध नेपाल र सुखी नेपालीको भर लगायतका प्ले कार्ड बोकेका थिए ।
बाजागाजा सहितको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । बेलुन उडाएर मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले कर सप्ताह कार्यक्रमको उद्घाटन गर्दै कर तिरेर सभ्य नागरिक बन्नु पर्नेमा जोड दिए ।
प्रभातफेरीमा उद्योग संगठनका भीम घिमिरे, मोरङ व्यापार संघका पवनकुमार सारडा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मनोज केसी लगायतका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कर सप्ताहको अवसरमा साप्ताहीक कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ । जसअन्तर्गत ब्याडमिन्टन प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, हाजिरीजवाफ, रक्तदान, अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम संचालन गर्ने आयोजकले जनाएको छ ।