विराटनगर, मंसिर १
इण्डो–नेपाल बहुभाषिक कवि सम्मेलन(मुशायरा) शनिबार भव्यरुपमा सम्पन्न भएको छ । कौमी एकता मञ्च विराटनगरको आयोजनामा विराटनगरको विरेन्द्रसभागृहमा भएको मुशायरा कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, मैथिली, भोजपुरी र मारवाडी भाषाका कविहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए ।
कार्यक्रममा भारतका चर्चित कवियत्री चाँदनी शवनम्, भीवा शुक्ला, कविहरु अकमल बलरामपुरी लगायतले प्रस्तुती दिएका थिए भने नेपालबाट सीमा आभास, माया मितु, इम्तियाज वफा, विवस पोखरेल लगायतले नेपाली राष्ट्रियता झल्किने कविताहरु प्रस्तुत गरेका थिए । प्रविण नारायण चौधरीले मैथिली भाषामा कविता प्रस्तुत गरेका थिए ।
नेपाल–भारतबीच असमझदारी हटाउनुको साथै आपसी भाइचारामा वृद्धि हुने बताउँदै कार्यक्रम संयोजक जफर अहमद जमालीले दुवै देशका संस्कृतिको बारेमा नेपाल र भारतका स्थानीयले बुझ्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोईराला, एमालेका नेता रुपेश खतिवडा, वसिम आलम तथा साहित्य क्षेत्रमा क्रियासिल साहित्यकारहरुको उपस्थिती थियो ।
सात सम्मानित
कार्यक्रममा उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, भगवान झा, असलम आलम, साहब अहमद्(गड्डु), सनातन मण्डल, मोहतरमा तनुजा र जनाब अबुल हसन नदवीलाई सम्मान गरिएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले उनीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।