रक्सौल-काठमाडौं रेलमार्ग ५० प्रतिशत सुरुङमा, जनकपुरको रेल गुडाउन नेपाली टोली भारत जाँदै

रक्सौल-काठमाडौं रेलमार्ग ५० प्रतिशत सुरुङमा, जनकपुरको रेल गुडाउन नेपाली टोली भारत जाँदै

काठमाडौं ,मंसिर ४
रक्सौल–काठमाडौं रेलमार्गको ५० प्रतिशत खण्ड सुरुङ मार्गभित्र निर्माण हुने भएको छ । हाल भारत सरकारको प्राबिधिक टिमले रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत अध्ययन गरिरहेको छ । भारतीय प्राबिधिकहरुले सो रेलमार्गलाई १४० किलोमिटर वा १९० किलोमिटर लम्बाईको दुई वटा विकल्प पेश गरेका छन् ।

दुबै विकल्पमा ५० प्रतिशत रेलवे सुरुङमा हुने रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । भारत सरकारले सो रेलमार्ग अनुदानमा निर्माण गरिदिने अनौपचारिक आश्वासन दिएको छ । तर सो रेलमार्ग ब्रोडग्रेजमा निर्माण हुनेछ ।

उता, जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको मोडालिटी तय गर्न नेपाली टोली भारत जाने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले डिसेम्बर महिनाभित्रै जनकपुर–जयनगर रेल सञ्चालनको तयारी भैरहेको बताए ।

३५ किलोमिटर लामो सो रेलवेको निर्माण भारत सरकारले शतप्रतिशत अनुदानमा गरिदिएको हो । आगामी ६ महिनाभित्र थप १७ किलोमिटरको निर्माण सम्पन्न गरेर बर्दिबासम्म ल्याईसक्नेछ । भारत सरकारसँग वेट लिज सम्झौता गरेर जनकपुर जयनगर रेल सञ्चालन गर्ने सैद्धान्तिक सहमति भएको छ । सचिव अधिकारी नेतृत्वको नेपाली टोलीले भारत भ्रमणका क्रममा सोही सैद्धान्तिक सहमतिलाई मुर्त रुप दिनेछ ।

त्यस्तै, डिसेम्बरमा रेल सेवा उद्घाटनको मोडालिटी पनि तय गर्नेछ । यस अघि डिसेम्बर १० तारिखका दिन प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो तर त्यो रोकिएको छ ।

रेल विभागले मेची महाकाली रेलमार्गको बर्दिबासदेखि लालबन्दिको ३५ किलोमिटरमा धमाधम काम गरिरहेको छ । त्यस्तै, लालबन्दिदेखि निजगढसम्मको थप ३५ किलोमिटरमा पुलहरुको ठेक्का आव्हान गरिएको छ भने मुआब्जा वितरणको काम अघि बढेको पनि महानिर्देशक मिश्रले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले बर्दिबासदेखि काकडभिट्टासम्मको खण्डमा बुट मोडलबारे विदेशीहरुसँग आफैं छलफल गरिरहेका छन् । २४० किलोमिटर लामो सो खण्डको डीपीआर निर्माण सम्पन्न भैसकेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.