काठमाडौ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ।ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो। , यो खबर आजको नागरिक दैनिकमा छ ।
विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ।कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।
उनका अनुसार अहिले नयाँ वाइड बडी खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनु नपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो भन्ने विषयमा अध्ययन भइरहेको छ।
‘कात्तिक २२ गते जहाजको ब्रेक सिस्टममा खराबी देखिएपछि विमानस्थलमै ग्राउन्डेड गरेका छौं। प्राविधिक विषय भएका कारण इन्जिनियरहरुले अध्ययन गरिरहेका छन्,’ सिग्देलले भने ।
दोहा–काठमाडौ उडानका क्रममा कातिक १६ गते दोहामा विमानको ब्रेक सिस्टममा समस्या देखिएपछि उडान ६ घन्टा रोकिएको थियो ।