विराटनगर, मंसिर ६
सुनसरीको दुहवी–९ छाताबेलीका फिदा हुसेनका हत्यारा पत्ता लगाउनु पर्ने मागसहित आन्दोलनमा उत्रिएका स्थानीयले दुहवीमा शवसहित प्रर्दशन गरेका छन् ।
उनीहरुले गृहमन्त्री रामबहादुर थापा घटनास्थल आउनु पर्ने अडान राखेका छन् । मुस्लिम समूदायमाथिको आक्रमण नरोकिएकाले गृहमन्त्रीले घटनास्थलमा आएर शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु पर्ने उनीहरुको माग छ ।
शहीद घोषणा र सरकारी क्षतिपूर्ति भन्दापनि गोली हान्ने समूहको पहिचान गरी कार्वाहीको दायरामा ल्याउन मुस्लिम खगुवाहरुले माग गरेका छन । मृतक हुसेनको शव हिजो मध्यान्हबाटै दुहवी स्थित डाँगा चौकमा राखिएको छ ।
टेण्ट गाडेर मृतकका परिवार सहित स्थानीयले शव सडकमै राखी प्रर्दशन जारी राखेका छन् । आज मध्यान्ह सम्मपनि आफुहरुको माग सुनुवाई नभए आन्दोलनलाई शशक्त बनाउने मुस्लिम समूदायले चेतावनी दिएको छ ।
हुसेन हत्याको बिरोधको प्रभाव सुनसरीको दुहवी सहित भमरी,औराबनी, इनरुवा लगायतका क्षेत्रमा समेत परेको छ । दुहवी सडक अवरुद्ध हुँदा सो सडक खण्ड भएर गुड्ने सवारीका साधन ठप्प भएका छन् भने दुहवीका उद्योग कल कारखाना, शिक्षणसंस्था र बजार पूर्ण रुपमा बन्द छन् ।
बन्दका कारण कोशि राजमार्गमा चल्ने सवारीका साधनहरु बैकल्पीक सडकबाट चलिरहेका छन् । बन्दले जनजिवन प्रभावित पारेको छ । सुनसरी प्रहरीले भने हत्याराको खोजी भैइरहेको बताएको छ ।