एजेन्सी, मंसिर १०
स्पेनिस ला लिगा अन्तर्गत आईतबार रियल भालाडोलिडलाई पराजित गर्दै सेभिल्ला तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान स्टाडीयो रामोन सान्चेज पिजुआनमा भएको खेलमा सेभिल्ला १–० ले विजयी रहयो ।
खेलको ३० औं मिनेटमा पाब्लो सराबियाको क्रसमा आन्द्रे सिल्भाले हेडर मार्फत गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए । खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेभिल्लाले थप गोल गर्न भने सकेन । खेलको अन्तिम समयमा गोलरक्षक थोमा वाक्लिकले उत्कृष्ट बचाउ गर्दै सेभिल्लाको ३ अंक जोगाएका थिए ।
यो सँगै सेभिल्ला शीर्षस्थानमा उक्लिएको छ ।शनिबार एटलेटिको म्याड्रिडको घरेलु मैदानमा बार्सिलोना र एटलेटिकोको खेल १–१ को बराबरीमा टुंगिएपछि सेभिल्लालाई शीर्षस्थानमा जाने अवसर जुरेको थियो । हालसम्म एकपटक मात्र लिग उपाधि जितेको सेभिल्ला डिसेम्बर महिनाको सुरुवातसम्म लिगको शीर्षस्थानमा रहनेछ ।
लिग तालिकामा सेभिल्ला १३ खेलमा २६ अंक सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको बार्सिलोनाले २५ अंक जोडेको छ ।त्यस्तै एटलेटिको म्याड्रिड २४ अंकसहित तेस्रोे स्थानमा छ ।सेभिल्लाले अब बिहीबार हुने यूईएफए युरोपा लिगको खेलमा बेल्जीयन क्लब स्टान्डर्ड लिएज सामना गर्नेछ ।