एजेन्सी, मंसिर १०
युएईमा जारी टि–१० क्रिकेट लिगमा आईतबार भएको खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । सन्दीपले दुई विकेट लिएपनि वर्षाका कारण केरला किंग्सले तेस्रो खेलमा राजपुत्ससँग अंक बाँडेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो । राजपुत्सका लागि लौरिई इभान्सले ३८ रन बनाएका थिए ।
खेलमा नेपालका सन्दीप लामिछानेले दुई विकेट लिन सफल भए । उनले पहिलो ओभरमा नै मोहम्मद शाहजादलाई एक रनमा आउट गराएको थिए ।
त्यस्तै, आफ्नो दोस्रो ओभरमा कार्लोस ब्राथवाइटलाई पनि एक रनमै आउट गराएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर २ विकेट लिएका थिए ।
यसअघि केरलाको पख्तुन्ससँगको खेलमा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । उनी सो खेलमा म्यान अफ द म्याच पनि घोषित भएका थिए ।आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिएका थिए तर, केरला भने सिन्धिससँग ९ विकेटले पराजित भएको थियो ।