विराटनगर,मंसिर १०
झापाको शिवसताक्षी—७ लालझोडामा आईतवार राती अचानक घरमा सल्केको आगलागीमा परि २ नाबालकसहित एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीय राधिका, ४ वर्षीया छोरी चन्द्रा र ५ महिनाका छोरा टिकारामको मृत्यु भएको हो । आगलागीमा परी छिमेकी घरकी ३७ वर्षीया गीता ढुङ्गेल घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याइएको जनाइएको छ । आगलागीले घर पूर्णरुपमा जलेकाले आगलागीको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
राती करिब साढे १० वजे स्थानीय खनालको घरमा आगो लागेको छिमेकीले देखेका थिए । आगो देखेपछि निभाउन स्थानीयहरु पुगेपनि लक्ष्मणसहित उनका परिवारलाई बचाउन भने नसकेको वडा नम्बर ७ का अध्यक्ष नवीन इजमले जानकारी दिए ।
स्थानीयका अनुसार ट्रयाक्टर र थ्रेसर समेत चलाउदै आएका खनालको उक्त २ तले काठको घरमा पेट्रोलियम पदार्थ समेत राख्ने गरिएको थियो । पेट्रोलियम पदार्थका कारण आगो चाँडै सल्केर मानवीय क्षति भएको प्रहरीको अनुमान छ ।
शिवसताक्षी नगरपालिकामा वारुणयन्त्र समेत नभएका कारण दमक नगरपालिकाबाट आगो निभाउन पुगेको दमकल घटना भइसकेपछि मात्र पुगेको थियो ।