काठमाडौं,मंसिर १०
धैरै आयोजना एकसाथ ओगट्ने र लामो समयसम्म आयोजनाको काम नसक्ने नेपाली ठेकदारको रोग नै भइसकेको छ । तर उपत्यका विकास प्राधिकरणको भवन तोकिएको समयभन्दा १३ महिनाअघि नै सकिएको छ ।
६ तले भवनको निर्माण जिम्मा दानफी, समानान्तर र कमलजित जेभीले लिएका थिए । यी ठेकदारले २०७३ पुस २४ गते निर्माणको जिम्मा लिएका हुन्। भ्याट सहित २० करोड ६३ लाख ८ सय ९३ रुपैयाँमा निर्माण शुरु गरिएको सो भवन २०७६ असार १८ सक्ने गरी सम्झौता भएको थियो ।
तर निर्माण कार्य १३ महिना अगावै सकेर प्राधिकरणलाई हस्तान्तरण गरको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिए । कम्पनीहरुले भवन २०७५ साउन २० गते नै तयार पारेका हुन् ।
६ तले भवन कुल ३ रोपनी ४ आना क्षेत्रफलमा फैलिएको छ । यसमध्ये ४३।२३ प्रतिशत ग्राउण्डले ओगटेको छ । भवनले कुल २५२६।३१ स्क्वायर मिटर क्षेत्रफल ओगटेको छ । भवनको सबैभन्दा तल्लो तहमा अन्डर ग्राउण्ड पार्किङ रहेको छ । ग्राउण्ड तल्लाले ६४४२ स्क्वायर फीट ओगटेको छ भने पहिलो, दोस्रो, तस्रो र चौथो तल्लाले समान ५०११ स्क्वायर फीट ओगटेको छ । यस्तै ५औं तल्लाले १८२० स्क्वायर फीट ओगटेको छ । यसैगरी, सबै भवनले कुल ३५ हजार ६१२।८१ स्क्वायर फीट क्षेत्रफल ओगटेको छ ।
ठेकदार कम्पनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिन अर्थ मन्त्रालयमा फाइल पेश गरेको आयुक्त तिवारीले बताए । उनका अनुसार कम्पनीले आयोजनाको १० प्रतिशतसम्म पुरस्कार पाउनेछ ।कुल लागतको भ्याट बाहेक हुन आउने रकमको १० प्रतिशत झन्दै १ करोड ८२ लाख रुपैंया पुरस्कारको माग गर्दै प्राधिकरणले शहरी विकास मन्त्रालयमा फाइल पेश गरेको छ । शहरी मन्त्रालयले पनि फाइल अर्थ मन्त्रालयमा पेश गरिसकेको तिवारीले जानकारी दिए ।
अब अर्थ मन्त्रालयले निकासा गरेपछि कम्पनीहरुले पुरस्कार रकम प्राप्त गर्न सक्नेछन् । भवन निर्माणको काम दानफी र समानान्तरले ३५र३५ प्रतिशत र कमल जितले ३० प्रतिशत काम गरेका थिए ।(विकास न्युजबाट)










