तोकेको मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

१६ मंसिर ७५, सोमबार

चितवन, मंसिर १६

Advertisement

अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ । भेलाले मूल्य अझैँ घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको संघद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

अण्डाको वर्तमान बजार अवस्था सुधार गर्नका लागि उत्पादक र आन्तरिक व्यापारबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

Advertisement

यसैगरी अण्डा उत्पादक किसान राहत कोषसमेत स्थापना गर्नुपर्ने आवश्यकता महसुस गर्दै कोष स्थापनाका लागि कार्यविधि तयार गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।

सङ्घले अण्डा व्यापारीले ढुवानी गर्दा हुन जाने नोक्सानी बेहोर्नका लागि विगत एक दशकदेखि अण्डा ढुवानी राहत कोष स्थापना गरी काम गर्दै आएका छन् ।

Advertisement

संघले देशभरको प्रतिनिधित्व हुने गरी कार्यसमितिको सङ्ख्या बढाउन आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने जिम्मा कार्यसमितिलाई दिने निर्णय गरेको छ ।

संघले चितवनमा रहेका सदस्यबाट विसं २०६४ देखि बजार प्रवद्र्धन कोषका लागि प्रति पेटी रु एक र अण्डा ढुवानी राहत कोषवापत रु तीन उठाउँदै आएकोमा देशभरबाट नै कोषमा रकम उठाउने निर्णय गरेको छ ।

भेलाले अण्डाको मूल्य घट्नुको प्रमुख कारण उत्पादन बढी भएको भन्दै लेयर्स प्यारेन्ट आयातमा नै कटौती गर्न ह्याचरी उद्योग सङ्घलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसैगरी अण्डाको बजारीकरणका लागि हरेक जिल्लामा सहकारीको स्थापना गरी त्यसको अवधारणाअनुसार कामकाज गर्ने निर्णय गरेको छ ।

भेलामा देशभरका ३०० जना कृषक सहभागी भएका थिए । हाल ठूलो अण्डाको फार्म मूल्य प्रतिक्रेट रु २४० र मध्यमको रु २०० मा बिक्री हुँदै आएको छ । सङ्घका केन्द्रिय सचिव मदन पोखरेलका अनुसार किसानको लागत मूल्य प्रतिक्रेट रु २७० पर्न आउँछ । मूल्य एकोहोरो घटेपछि किसानका आपतकालीन भेला डाकिएको पोखरेलले बताए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top