काठमाडौँ,मंसिर २२
शहीद स्मारक ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेलहरु सुरु भएका छन् । आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालय शेर्पाले एक एक गोलको बराबरीमा चित्त बुझाएका छन् ।
हलचोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा भएको खेलमा पुलिसले हिमालयन शेर्पाविरुद्ध सुरुवातदेखि नै पकड बनाएको पुलिसले ३१ औं मिनेटमा अग्रता बनायो । उसका लागि भरत शाहले गोल गर्न सफल भए ।
उनले तेज तामाङको पासको सदुपयोग गरेका थिए । एक गोलले पछि परेको हिमालयन शेर्पाले खेलको इन्जुरी समयको अन्तिममा गोलको राम्रो मौका पाएपछि सफल भएन । पहिलो हाफमा एक गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा पनि निकै राम्रा मौकाहरु पाएको थियो । ५१ औं मिनेटमा पुलिसले गरेको प्रहारले सही दिशा लिन नसक्दा अग्रता दोब्बर गर्ने मौका गुमायो ।
६७ औं मिनेटमा पुलिसका रवी पासवानको प्रहार हिमालयनका किशोर गिरीले बचाए । एक गोलले पछि परेको शेर्पाले ७० औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । रवी मगरले मिलाएको बललाई विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमका लागि गोल गरे । ८० औं मिनेटमा पुलिसले अर्को मौका पाएको थियो । जसमा भरत शाह चुक्न पुगे ।
८४ औं मिनेटमा हिमालयन शेर्पाका विदेशी खेलाडी वाम्बाले गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र पुलिसले लिगमा दोस्रो पटक अंक बाढ्न बाध्य भयो । बराबरीपछि पुलिसले सात खेलबाट ११ अंक बनाएको छ भने शेर्पाको पनि समान ११ अंक नै भएको छ ।