विराटनगर,मंसिर २५
सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा रहेको लक्ष्मी फोम एण्ड लुप म्याट इण्डट्रिज उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट उद्योगमा रहेको तयारी तथा कच्चा पदार्थ र उपकरण गरी करोडौको नोक्सानी भएको छ ।
उद्योगको काम बन्द भएको र मजदुर नभएको अवस्थामा एकाएक डोरम्याट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उद्योगी भानु टिव्रेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शंकर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरम्याट कच्चा पद्धार्थ र मेशिनहरुमा समेत ठूलो नोक्सानी भएको छ ।
इटहरी, सुन्दरहरैचा, धरान, खनार र बिराटनगरको दमकल, नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा करीब ३ घण्टापछि आगो नियन्त्रणमा आएको हो । उद्योगमा के कारणले आगो लाग्यो भन्ने एकिन नभएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिबकुमार श्रेष्ठले जानकारी दिए ।