विराटनगर,मंसिर २६
क्यान इन्फोटेक मेलाको टाईटल स्पोन्सर सुबिसुले लिएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)मोरङको आयोजनामा आगामी पौष १९ गतेदेखि विराटनगरमा हुन लागेको सो मेलाको टाईटल स्पोन्सर सुबिसुले लिएको क्यान इन्फोटेक २०१९ प्रचार प्रसार समितिका संयोजक जयन्त बोथराले जानकारी दिए ।
विश्वमा सुचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदेश १ मा अहिले सम्मकै विशाल र भव्यरुपमा गर्न लागिएको सो मेला विराटनगरको जैन भवनमा ५ दिनसम्म चल्ने छ । क्यानले मेलाका लागि स्पोन्सर बुकिङ भने यसअघि नै खुल्ला गरेको थियो ।
प्रायोजकहरु मध्ये पहिले आउनेलाई प्राथमिकता दिईने छ भने मेलाको स्टल २४ घण्टा अघि तयार गरिसक्नुपर्ने जनाईएको छ । जुनसुकै वर्गका प्रायोजकहरुले सम्झौता भन्दा अगाडि नै कम्प्युटर एशोसिएसन नेपाल महासंघ मोरङलाई प्रस्ताव अनुसार प्रायोजनको सम्पुर्ण रकम अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।
२३ गतेसम्म चल्ने मेलामा सहभागिमध्ये केही भाग्यमानीलाई दुबई भ्रमणको अवसर समेत दिइने छ ।