विराटनगर,पुस ३
दिनरात नभनी सुरक्षाका लागि ड्युटीमा बस्दा परिवारको हेरचाह र उपचार गर्न नपाएका प्रहरी तथा उनीहरुका परिवारका लागि जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
लगातार ड्युटीमा खटिँदा धेरै प्रहरीहरुले आफू मात्र होइन आफ्ना आफन्त र परिवारको उपचारमा समय दिन नभ्याएकाले नोबेल अस्पतालको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा प्रहरी कर्मचारीहरुले आफु, आफ्ना आमा बुवा र बालबच्चाको आँखा, नाक, कान, घाँटी, चर्मरोग, मुटु लगायतको एकिकृत उपचार सेवा लिएका थिए । उनीहरुलाई निशुल्क औषधीसमेत उपलब्ध गराइएको थियो ।
शिविरका लागि करिब ६ लाख रुपैयाँको निशुल्क औषधी सहयोग स्वरुप प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शिविरमा मोरङका विभिन्न प्रहरी कार्यालयमा कार्यरत करिब ३ सय प्रहरी र उनीहरुका आफन्तहरुले उपचार सेवा लिएका थिए ।