विराटनगर,पुस ७
विराटनगर हार्डवेयर संघको साधारणसभा सम्पन्न भएको छ । संघको दोस्रो साधारणसभा मोरङको बैजनाथपुर स्थित ड्रिम गार्डेनमा मनोरञ्जनात्मक कार्यक्रम सहित सम्पन्न भएको हो ।
सो अबसरमा विराटनगर हार्डवेयर संघका अध्यक्ष मुकुन्द दाहालले संघले विराटनगरका हार्डवेयर व्यवसायीहरुको पक्षमा काम गर्दै आईरहेको बताए । अध्यक्ष दाहालले विराटनगरमा २ सय ५० भन्दा बढी हार्डवेयर व्यवसाय सञ्चालनमा रहेको बताउँदै संघमा हाल सम्म १ सय ३८ ले सदस्यता लिईसकेको जानकारी दिए ।
उनले केहीसमय भित्र सवैलाई सदस्यता वितरण गरिनेसमेत जानकारी दिए । कार्यक्रममा विराटनगर हार्डवेयर संघका महासचिव सन्तोष चौधरीले संघलाई आगामी दिनमा नयाँ ढंगले अघि बढाउँदै लगिने जानकारी दिए ।
साधारणसभाले महासचिव सन्तोष चौधरीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गाविन्द अग्रवालले पेश गरेको आर्थिक प्रतिवेदन सर्व सम्मतीले पारित गरेको छ ।
११ सदस्यीय कार्यसमिति रहेको संघलाई २१ सदस्यीय बनाउन गरिएको प्रस्तावलाई साधारणसभाले अनुमोदन गरेको छ । संघको साधारणसभामा नयाँ सदस्यता लिएका सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
साधारणसभाकै अबसरमा मनोरञ्जनात्मक कार्यक्रममा समेत गरिएको छ । विक्रम सम्वत २०५४ सालमा स्थापना भएको संघ २०७५ सालमा दर्ता भई विधिवत संचालनमा आएको हो ।