विराटनगर, पुस ८
सांगितिक क्षेत्रमा लागेका स्रष्टाहरुले पाउने रोयल्टी व्यवस्थापन गर्न कलाकर्मीहरुले जोडदार माग गरेका छन् । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय काठमाडौं लगायतका संस्थाहरुले विराटनगरमा आयोजना गरेको प्रतिलिपि अधिकार र रोयल्टीको व्यवस्थापनमा प्रदेश सरकारको भूमिका बिषयक अन्तरक्रियामा यस्तो माग गरेका हुन ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतको मूल्य आलु, सुनको जस्तो जोखेर गर्नु नहुने बताउँदै रोयल्टी सम्बन्धी समस्या समाधान गर्न आग्रह गरे । उनले सरकारले यातायात क्षेत्रमा रोयल्टी अनिवार्य गरेको भएपनि प्रभावकारी कार्यान्वयन नभएको गुनासो गरे ।
गीतसंगीत क्षेत्रमा रोयल्टी तिर्ने वातावरण सिर्जना गर्न प्रदेश सरकारले सोही अनुसार यातायात व्यवसायीलाई निर्देशित गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईले स्रष्टाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउदै रोयल्टी व्यवस्थापनमा प्रदेश सरकार लागि पर्ने बताए ।
कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायतले सांगितिक क्षेत्रका स्रष्टाहरुको रोयल्टी व्यवस्थापनमा सवै एकजुट हुनुपर्ने बताएका थिए ।