विराटनगर, पुस ९
भारतबाट लुकाछिपाई नेपाल तर्फ ल्याइदै गरिएको अवैध करिब २५ लाख रकमसहित २ भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् । प्रहरीले भारत विहार राज्य अररिया जिल्ला फारविसगन्ज वडा नं ९ नया टोलका बर्ष २८ का सनोजकुमार साह र सोही स्थानका बर्ष ५० की शुशिला देवी गुप्ता साहलाई पक्राउ गरेको हो ।
आइतबार विहान ११ बजे स्थानीय रोडशेष चोकमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ आउदै गरेको भारतीय नम्बर बिआर ३८ एच ६१४२ नम्बरको कालो रंगको मारूती सुजुकी कार चेकजाँच गर्ने क्रममा कारको पछाडीको डिकीको भागमा झोला भित्र लुकाई छिपाई राखेको बिभिन्न दरको रकम पक्राउ गरेको हो ।
प्रहरीले २४ लाख १५ हजार ९ सय २४ रुपैया नेपाली र ४ हजार ९ सय भारतीय रुपैयासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ । प्रकाउ परेको रकमसहित २ भारतीय नागरिकलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान पूर्वान्चल क्षेत्रीय कार्यालय, ईटहरी पठाईएको मोरङ प्रहरीले जनाएको छ ।
सरकारले भारतीय २ सय देखि २ हजारसम्मका नोटमा प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा भारतीय ठूला नोटको कारोवार बन्द भएको समयमा २५ लाख अवैध रकमसहित भारतीय नागरिक पक्राउ परेका हुन । प्रहरीले भने बरामद रकम हुण्डी कारोबारका लागि विराटनगर ल्याइएको हुनसक्ने अनुमान गरेको छ ।