विराटनगर : १ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आफैँले बनाएको ऐन विपरीत सुविधा लिएका छन् ।गत जेठ १३ गते प्रदेश सभाले पास गरेको ‘प्रदेशसभाका पदाधिकारी तथा सदस्यको परिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५’ को व्यबस्था विपरीत केही माननीय सदस्यहरुले आवास सुविधा लिएका छन् ।
ऐनमा प्रदेशसभाबाट १५ किलोमिटर आसपासमा घर भएका सांसदले आवास सुविधा नपाउने व्यबस्था छ । तर आफैँले बनाएको ऐन विपरीत विराटनगर भित्र घर भएका ६ जना सांसदले आवास सुविधा वापत मासिक २५ हजार रुपैँया बुझ्दै आएका छन् ।
प्रदेशसभा सदस्यमा निर्वाचित संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादव, नेपाली काङ्ग्रेसकी सांसद शान्तिदेवी पौडेल र विन्दिया कार्कीले विराटनगरभित्र घर भएर पनि आवास सुविधा लिएका छन् ।
त्यस्तै सत्तापक्ष नेकपाका सांसद बसन्तीदेवी यादव, गुलेफुन मिया र लिलाबल्लभ अधिकारीले आवास सुविधा लिएका छन् ।विराटनगरभित्र घर भएकाहरुले आवास सुविधा नपाई वार्षिक ३० हजार मर्मत खर्च पाउने व्यबस्था छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।