एजेन्सी, पुस १२
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले बिग ब्यासमा आफ्नो तेस्रो खेलमा पनि घातक बलिङ गरेका छन् । सिड्नी सिक्सर्सबीरुद्ध सन्दीपले ४ ओभरमा मात्र १८ रन खर्चेर २ विकेट लिएका छन् ।
सिड्नीमा टस जितेर पहिला बलिङ रोजेको मेलवर्न स्टारका लागि सातौं ओभरमा आफ्नो पहिलो बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमा ४ रन मात्र खर्चिए ।
त्यस्तै ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपले १ विकेट लिदै पुन ४ रन खर्चिए ।सन्दीपले ८.२ ओभरमा सिड्नीका कप्तान समेत रहेका मोइशेस हेनरिकलाई ९ रनमा एलि डब्लू आउट गरे ।
सन्दीप आफ्नो तेस्रो स्पेल लिएर १२ औं ओभरमा बलिङ गर्न आएका थिए । १२ औं ओभरको अन्तिम बलमा सन्दीपले टम कुरेनलाई २ रनमा एली डब्लू आउट गर्दै पेभेलियन फर्काए । यस ओभरमा सन्दीपले ३ रन मात्र खर्चिए ।
१४ औं ओभरमा सन्दीपले दुई लेग वाई सहित ९ रन खर्चदै आफ्नो स्पेल सकाए । सन्दीपले यस ओभरमा एक चौका खाएका थिए । आजको दुई विकेट सँगै सन्दीप विग ब्यासमा ३ खेलमा ७ विकेट लिदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शिर्ष स्थानमा उक्लिएका छन् ।
खेलमा मेलबर्नले सिड्नी सिक्सर्सलाई ५ विकेट हरायो । सिड्नीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ३० रन बनायो । जवाफमा मेलबर्नले १४ ओभर ५ बलमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसको जितमा पिटर ह्यान्डसकोपले ७० तथा लार्किनले २० रन बनाए ।यो नै सन्दीपको टिमको पहिलो जित हो ।