नेपाली श्रमिकलाई खुशीको खबरः मलेसियामा आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

नेपाली श्रमिकलाई खुशीको खबरः मलेसियामा आप्रवासी कामदार सामाजिक सुरक्षाको दायरामा

काठमाडौँ ,पुस १४

नेपालीको लागि श्रम गन्तव्य मध्ये मलेसिया एक प्रमुख देश हो । हालै नेपाल र मलेसियाबीच श्रम संझौतापनि भएको छ । केही समय यतादेखि मलेसियामा कामदार जान पाएका छैनन् ।

केही समयपछि मलेसियाको बैदेशिक रोजगारी खुल्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । यधपी श्रम संझौतापछि मलेसियाको बैदेशिक रोजगारी थप व्यवस्थित हुने भएको छ ।

यता, मलेसिया सरकारले आप्रवासी कामदारलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सन् २०१९ देखि नयाँ व्यवस्था लागू गरेको छ ।

मलेसिया सरकारले रोजगारदाता कम्पनीले विदेशी कामदारलाई मलेसियाको सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । हाल विदेशी कामदारको सामाजिक सुरक्षा कार्यक्रम वैदेशिक कामदार क्षतिपूर्ति योजनाअन्तर्गत सञ्चालन हुँदै आएको थियो ।

रोजगारदाताले विदेशी कामदारलाई उक्त संस्थामा दर्ता गर्नुपर्ने र सामाजिक सुरक्षाबापत कामदारको मासिक न्यूनतम् पारिश्रमिकको एक दशमलव २५ प्रतिशत रकम सो संस्थामा तिर्नुपर्नेछ । उक्त रकम कामदारको तलबबाट कटाइने छैन । आगामी जनवरी १ उप्रान्त मलेसिया आउने विदेशी कामदारलाई अनिवार्य रुपमा संस्थामा दर्ता गर्नुपर्नेछ ।

उक्त संस्थामा दर्ता भएका विदेशी कामदारले स्वास्थ्योपचार, अस्थायी तथा स्थायी अशक्तता सुविधा, आश्रित परिवार सुविधा, शव फिर्ती तथा अन्तिम संस्कार र सुविधा, सहयोगी भत्ता तथा पुनःस्थापना सुविधा प्राप्त गर्न सक्ने क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले हाल मलेसियामा कार्यरत र आउने क्रममा रहेका सम्पूर्ण नेपाली कामदारलाई आ-आफ्नो रोजगारदातासँग सम्पर्क राखी आफूलाई सामाजिक सुरक्षा संस्थामा दर्ता गराउन समेत अनुरोध गरेको छ ।

मलेसिया सरकारले घोषणा गरेको सामाजिक सुरक्षा सुविधा वैधानिक रुपमा बसोबास गर्ने कामदारले मात्र पाउनेछन् । साबिकको कम्पनी छाडेर भागेमा तथा अवैधानिक भएमा त्यस्ता कामदार उक्त सेवा सुविधाबाट बञ्चित हुनेछन् ।

रोजगारदातासँग वा कम्पनीमा कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न र आफूखुशी कम्पनी छाडेर नहिँड्नसमेत दूतावासले नेपाली श्रमिकलाई आग्रह गरेको छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.