साउथह्याम्पटनमाथि म्यान्चेस्टर सिटीको सहज जित

साउथह्याम्पटनमाथि म्यान्चेस्टर सिटीको सहज जित

एजेन्सी, पुस १६
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति साउथह्याम्टनको घरेलु मैदानमा भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो ।

सिटीको जितमा डेभिड सिल्भा र सर्जियो अग्विरोले गोल गरे । एक गोल उपहार पाएको थियो । साउथह्याम्टनका पिएरे इमिलले एक गोल फर्काए ।

बर्नाडो सिल्भाको पासमा डेभिड सिल्भाले गोल गरेपछि सिटीले खेलको १०औं मिनेटमा अग्रता बनाएको थियो । ३७औं मिनेटमा पिएर इमिलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

४५औं मिनेटमा जेम्स वार्ड प्रोजले आत्मघाती गोल गरेपछि सिटीले खेलमा २–१ को अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अग्विरोले गोल गरेपछि सिटीले खेलमा ३–१ को अग्रता बनाएको थियो ।

घरेलु टोली खेल सकिन ५ मिनेट बाँकी रहँदा १० खेलाडीमा समेटिएको थियो । फर्नाडिन्होमाथि गम्भीर फल गरेपछि रेफ्रीले पिएरे इमिललाई सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।त्यसपछि थप गोल हुन सकेन फलस्वरुप सिटी ३–१ ले विजयी हुन सफल भयो ।

जितपछि सिटीले टोटेनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीको २० खेलबाट ४७ अंक पुगेको छ । जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी ७ मा झारेको छ ।

तेस्रो स्थानको टोटेनहमको ४५ अंक रहेको छ । शीर्ष स्थानको लिभरपुलको समान खेलबाटै ५४ अंक रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.