विराटनगर, पुस २४
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लवले दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।इटहरी रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले बलियो आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा पुलिसले आर्मीमाथि २६–२४ को जित निकालेको थियो । दोस्रो सेट आर्मीले २५–२१ ले जितपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेटमा पुलिसले आर्मीलाई २५–२३ र २५–१७ ले निराश पार्दै च्याम्पियन बन्न सफल भयो ।
च्याम्पियन बनेसँगै पुलिसले ४ लाख रुपैयासहित सिलड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले २ लाख रुपैयमा चित्त बुझायो ।आर्मीका धन बहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । व्यक्तिगत विधातर्फ पुलिसका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर, कप्तान इम राना उत्कृष्ट सेटर, दीपकराज जोशी उत्कृष्ट ब्लकर र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।
आर्मीका भैरव बहादुर बम उत्कृष्ट क्वीकर र आर्मीकै इश्वर थापामगर उत्कृष्ट लिवेरो चुनिए ।प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।