एजेन्सी, पुस २९
फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएका छन् । शनिबार राति भएको खेलमा एमिनसलाई ३–० ले पराजित गर्दै पीएसजीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो । ६६ औँ मिनेटमा १० खेलाडीमा समेटिएको एमिनससँग पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
एमिन्सको मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलको ५७औं मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । एलेक्स बीलिनले काभनीलाई बक्समा लडाएपछि भिएआरको सहायतामा पीएसजीले पेनाल्टीको मौका पाएको थियो । जसलाई काभनीले कुनै गलती गरेनन् ।
६६औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । एमिन्सका खालिद एडिनन दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । त्यसको प्रत्यक्ष फाइदा पीएसजीले उठायो । ७०औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले काभानीको पासलाई गोलमा परिणत गरेका थिए ।
७९औं मिनेटमा जुलियन ड्राक्सलरको पासमा मार्किन्योसले गोल गर्दै पीएसजीलाई ३–० को सहज जित दिलाए । जितपछि लिग वानमा अपराजित रहेको पीएसजीले १८ खेलबाट ५० अंक जोड्दै लिगको आफ्नो शीर्षता थप बलियो बनाएको छ । पीएसजीले दोस्रो स्थानमा रहेको लिलेमाथि १३ अंकको अग्रता बनाएको छ । पीएसजीले दुई खेल कम खेलेको छ ।