एजेन्सी, पुस ३०
थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास अन्तर्गत आज युएईलाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । बलिङमा नेपालका लागि सिता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक एक विकेट लिइन ।
जवाफमा नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटकालागि ६१ रनको साझेदारी गर्न सफल भयो । तर सिता रानामगर ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।
त्यसपछि डोली भट्ट मात्र सात रनमा पेभेलियन फर्किदा नेपालको स्कोरबोर्डमा ७० रन थियो । काजल श्रेष्ठपनि २५ रनमा आउट भएपछि नेपालले ८५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मापनि १३ रनमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८८ रनमा चौथो विकेट गुमायो । अन्तिममा नेपालका लागि रुवीना क्षेत्रीले नौ र नेरी थापाले ६ रन बनाइन ।