एजेन्सी, माघ २
सन् २०१८ मा करिब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको र सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने तयारी भइरहेका बेला नेपाल विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यमा परेको छ ।
बेलायती पत्रिका द टेलिग्राफले सन् २०१९ मा भ्रमण गर्नुपर्ने विश्वभरिकै जीवन परिवर्तन गर्नसक्ने गन्तव्यमा नेपाल छनोट गरेको हो । टेलिग्राफको सूचीमा नेपाल नवौं नम्बरमा परेको छ ।
‘पहाडी क्षेत्रमा रिक्साका सवारीदेखि ग्रामीण झोलुंगे पुलहरू हुँदै गरिने अन्नपूर्ण पदयात्रा मार्गको यात्रा एक रोमान्चक यात्रा हो, यो पदयात्रा मार्ग नेपाल र संयुक्त राष्ट्र संघीय विकास कोषद्वारा बनाइएको हो,’ नेपालको वर्णन गर्दै भनिएको छ, ‘स्थानीय गाइड र इको(लजहरू तथा पारिवारिक घर (होमस्टे)बाट आर्जन गरिएको पैसा सीधै समुदायमा जान्छ ।’
हिमाली चुचुराहरू हुँदै जाने यो पदयात्रा मार्गमा लालीगुराँसका जंगल र चराहरूको चिरबिरीबीच रमाइलो यात्रा गर्न पाइने उल्लेख गरिएको छ, जसमा नेपाली घरहरूमा खाना बनाउनेदेखि पस्केर खान पाइने रमाइलो पक्ष पनि भएकाले नेपाल एक जीवन पर्यन्तका अनुभव साटिने गन्तव्यमा परेको हो । अन्य गन्तव्यहरूमा दक्षिण अफ्रिका, फ्रान्सदेखि मंगोलिया, चीन, थाइल्यान्ड हुँदै भारतसम्म परेका छन् ।