विराटनगर, माघ १०
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्वर्गिय गजेन्द्रनारायण सिंहको स्मृति दिवस बिहिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले विराटनगरमा पनि एक कार्यक्रमको आयोजनागर्दै स्वर्गिय सिंहको १७ औं स्मृति दिवस मनायो ।
राष्ट्रिय जनता पार्टी नेपाल मोरङका अध्यक्ष मण्डलका सदस्य जगरनाथ राजवंशीको अध्यक्षतामा मनाइएको स्मृति दिवसमा राजपाका केन्द्रीय एवम जिल्ला नेता सहित कार्यकर्ता र मधेशी अधिकारकर्मीको सहभागिता थियो ।
स्मृति सभामा राजपाका बरिष्ठ नेता बद्रीप्रसाद मण्डलले मधेशको राजनितिलाई संस्थागतगर्ने पहिलो नेता गजेन्द्रनारायण सिंह रहनुभएको बताए । उनंले सिंहले राणाशासन बिरुद्धको आन्दोलन र प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुका साथै समानता र संघीयताको मुद्धा समेत सबभन्दा पहिले उठान गर्नुभएको दाबी गरे ।
राजपाकै महासचिव जगदिश अधिकारीले स्वर्गिय सिंहले प्रजातन्त्रिक आन्दोलनमा दिएको योगदान अविस्मरणिय रहेको उल्लेख गर्दै वर्तमान नेताहरुले सिंहको जीवनबाट पाठ सिक्नुपर्ने बताए ।