काठमाडौं : संसारमा अनेक अचम्मको घटना हुने गर्दछन् । त्यस्तै जापानमा यस्तै अर्को घटना भएको छ । राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई आकारमा ल्याइएको वृक्षसहित अन्य ६ वटा रूख चोरिएका छन् । चोरी भएका रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर अर्थात १ करोड ३५ लाख रुपैयाँ भन्दा बढी हुन्छ ।
सबैभन्दा बहुमूल्य बोट शिम्पाकु जातको वनस्पतिको थियो । ४ सय वर्ष पुरानो उक्त बोन्साइको मात्र मूल्य ९० हजार डलर अथवा एक करोड रुपैयाँभन्दा बढी थियो । चोरिएका बाँकीमध्ये तीनवटा देवदारका र तीनवटा अलि कम उमेरका शिम्पाकुका बोट थिए । सबैभन्दा जेठो शिम्पाकुको बोनसाई यसै महिना आयोजना गरिने प्रतियोगितामा राखिने कार्यक्रम थियो ।
जापानमा विशेष प्रविधि प्रयोग गरी बोनसाई बनाइन्छ । बोनसाई असली रूपमा रूख जस्तो देखिए पनि आकारमा कैयौं सानो हुने गर्छ । घरमा भाँडोमै बोनसाई हुर्काइन्छ ।उक्त बोनसाईको रेखदेख गर्दै आएका सिजी इमुराकी पत्नी फुयुमीले त्यसलाई नियमित रूपमा सिँचाइ गर्न चोरसँग आग्रह गरेकी छन् । उनले चोरलाई सम्बोधन गर्दै भनेकी छन्, ‘पानी नदिने हो भने बोनसाई एक साता पनि बाँच्ने छैन । हामीले यसलाई आफ्नै सन्तान जसरी रेखदेख गर्दै आएका थियौं । तिमीले पनि त्यस्तै माया गर्नू ।’ आफे बोनसाईको रुख चोरी भएपछि आफ्नो शरीरको भाग काटेको जस्तै पीडा र छटपटी भएको फुयुमीले बताएकी छन् । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकले छापेको छ ।
