विराटनगर,फागुन ११
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यही फागु्न २८ गतेदेखि चैत ८ सम्म हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि विराटनगरमा रात्रीकालिन विकास निमार्णको काम सुरु गरिएको छ । विराटनगरमा विकासको कामले गति लिन नसकेको आरोप लागिरहेको अबस्थामा राति र दिउँसो चौबीसैं घण्टा काम जारी राखिएको बिराटनगर महानगरपालिकाले जनाएको छ ।
बिराटनगरको विकासका कामहरू दु्रतगतिमा सम्पन्न गर्न रात्रीकालिन काम भएको हो । विशेषगरी साफ खेलहुने मैदान आसपासको सडकलाई पहिलो प्राथमिकतामा राखेर रात्रीकाली काम सुरु गरिएको हो । दिउँसै कमसल सामाग्रीको प्रयोग भएको गुनासा चौतर्फी आईरहँदा रातको समयमा हुने काममा कैफियत हुन सक्ने भनेर महानगरले अनुगमन पनि बढाएको जनाएको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले रातीको समयमा समेत अनुगमन गरेको छ । टोलीले शुक्रबारराती कामको बारेमा अनुगमन गरेको हो । प्राबिधिक सहितको टोलीमा निस्किएका पराजुलीले मेनरोडको तिनपैनी देखि सातघुम्तिसम्मको अनुगमन गरेका थिए । महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै सहिद मैदान तथा अस्पताल चोकसम्मको सडक भने महिला साफ च्याम्पियनशिप हुनु अगावै सम्पन्न गर्ने गरी काम भएको जनाएको छ । ठेकेदार कम्पनीलाई कुनैपनि हालतमा च्याम्पियनशिप हुन भन्दा अगाडि सक्न मेयर पराजुलीले निर्देशन दिएका छन ।
नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारीलाई महानगरले युद्दस्तरमा अघि बढाएको जनाएको छ । प्रतियोगिताका लागि विराटनगरमा चारवटा खेलमैदानको स्तरोन्नती र तिनका आसपासका सडक निमार्णको काम भईरहेको छ । विराटनगर महानगरपालिका र एन्फाबीच भएको सम्झौताअनुसार खेल सुरु हुनुभन्दा १५ दिन अगाडि निर्माण कार्य सम्पन्न गरेर एन्फालाई हस्तान्तरण गर्ने सहमति भएको थियो ।
सहमतिअनुसार अहिले ७५ प्रतिशत काम सम्पन्न भैसकेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताएका छन । साफ च्याम्पियनशिपका लागि महानगरपालिकाले १ करोड र प्रदेश सरकारले करिव ५० लाख बजेट विनियोजन गरेका छन । यो बजेट साफका लागि आवश्यक पूर्वाधार निमार्णमा खर्च हुनेछ । साफ सम्पन्न गर्नभने करिव १ करोड खर्चहुने अनुमान एन्फाले गरेको छ ।