विराटनगर, फागुन ११
‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने नाराका साथ गत माघ ९ गतेदेखि सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ शनिबार सकिएको छ ।
विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौं अगाडिको खाली स्थानमा १ महिनासम्म चलेको जुत्ता चप्पल मेलाको १ लाख पचास हजार मानिसहरुले भ्रमण गरेको र करिब २ करोड रुपैँयाको कारोबार भएको आयोजकले जनाएको छ ।
मेलामा आउने ग्राहकहरु मध्ये ७० प्रतिशत ग्राहकले जुत्ता चप्पल खरिद गरेको बताउँदै विराट जुत्ता चप्पल मेलाका संयोजक होमनाथ उपाध्यायले मेलामा ७० हजार जोर भन्दा बढी जुत्ता चप्पल बिक्री भएको बताए ।
उनले ग्राहकहरुको उत्साहजनक सहभागीताले मेला सफल भएको बताउँदै आगामी दिनमा अझ भव्यताका साथ जुत्ता चप्पल मेला आयोजना गर्ने बताए । यस वर्ष मेला साँघुरो स्थानमा लागेको र केही असहज महशुस भएको बताउँदै उनले आगामि वर्षहरुमा पनि विराटनगरमा जुत्ता चप्पल मेला लाग्ने र मेला खुल्ला ठाउँमा लगाईने बताए ।
जुत्ता चप्पल मेलामा १० वटा कम्पनीका जुत्ता चप्पल बिक्रीमा राखिएका थिए । मेलामा विभिन्न स्टलहरुले जुत्ता–चप्पल खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुट दिइएको थियो ।