एजेन्सी, फाल्गुन १३
इंग्लिस लिग कप फुटबलमा गत राति भएको फाइनल खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जित्यो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि दुवै पक्षबाट गोल नभएपछि खेल पेनाल्टीमा पुगेको थियो । जहाँ सिटीले चेल्सीलाई ४–३ ले स्तब्ध बनाउँदै लगातार दोस्रोपटक लिग कपको उपाधि पोल्टामा पार्यो । सो खेल दौरान चेल्सीको प्यानलमा भने फुटबलमा लागि दुर्लभजस्तै लाग्ने दृश्य देखियो ।
निर्धारित समयपछि पेनाल्टीमा खेल जाने पक्का भएपछि चेल्सीका प्रशिक्षक सारीले पेनाल्टीका लागि गोलरक्षक परिवर्तन गर्ने तयारी गरे । उनले बेन्चमा रहेका अर्जेन्टिनी गोलरक्षक विली क्याबेल्लेरोलाई तयार पारे । विली वार्मअप गरिकन मैदान छिर्न तयार भएर लाइनमा उभिए ।
तर, मौदनमा रहेका चेल्सीका गोलरक्षक किपाले बडा गजबको व्यवहार देखाए । उनले सब्सिच्युट हुन मानेनन् । लाइनबाट उनलाई बाहिर आउन भनिरहँदा किपाले ठाडै सब्सिच्युट हुन अस्वीकार गरे । उनले ‘किन सब्सिच्युट हुने’ भन्दै प्रशिक्षकलाई प्रश्न मात्रै गरेनन्, लाइनमा बसेका अर्का गोलरक्षक विलीलाई समेत बाहिरै बस्न इशारा गरे ।
त्यसक्रममा चेल्सीका अन्य खेलाडीले पनि किपालाई कोचको कुरा मान्न भनेर सम्झाए । मैदानबाहिर रहेका चेल्सीका अन्य अफिसियलले पनि किपालाई इशाराले बोलाए । किपाले सब्सिच्युट हुन नमानेकोमा उनीहरूले आश्चार्य प्रकट गरे ।
तर, कसैको केही सीप चलेन । किपाले मैदान छाडेनन् । र, पेनाल्टी रोक्ने जिम्मा लिने भए । किपाको यस्तो व्यवहारपछि चेल्सीका प्रशिक्षक सारी खुब तनावमा देखिए । उनले मैदान बाहिरैबाट आक्रोशित व्यवहार देखाए । सारी रिसले चुर हुँदै यताउता दौडिरहेका देखिन्थे । उनले बेन्चमा रहेका सामानलाई किक हानिरहेका थिए भने अन्य अफिसियलसँग पनि आक्रोश पोखिरहेका थिए ।
अन्ततः मैदानमा पेनाल्टी सुरु भयो । सिटीको कूल ५ पेनाल्टीमध्ये एक पेनाल्टी रोकेर किपाले आफूलाई प्रमाणित गर्न खोजेका थिए । तर, चेल्सीका २ जना खेलाडी पेनाल्टीमा असफल भए । एकजनाको पेनाल्टी सिटीका गोलरक्षकले रोके भने अर्का एक खेलाडीको प्रहार पोलमा लाग्दै बाहिरिँदा चेल्सी ४–३ ले स्तब्ध बन्यो । र, उपाधि सिटीले उचाल्यो ।
सो खेलपछि अहिले चेल्सीका गोललरक्षक किपाको सर्वत्र आलोचना बढेको छ । कोचको निर्णय नमानेर उनले अनुशासनहीन काम गरेको भन्दै सामाजिक सन्जालमा उनको चर्को आलोचना भइरहेको छ । किपाले प्रशिक्षकको निर्देशन र निर्णय अस्वीकार गरेर कोचकै बेइजत गरेको भन्दै उनलाई सामाजिक सन्जाल प्रयोगकर्ताले गाली गरिरहेका छन् ।