एजेन्सी, फाल्गुन १३
इटालियन क्लब युभेन्टसले आगामी समर सिजनको सरुवा बजारलाई विशेष र व्यापक बनाउने तयारी गरेको छ । उसले अर्को सिजन सबैखाले उपाधि जित्ने महत्त्वकांक्षी योजनासाथ टिमलाई मजबुत बनाउन नयाँ खेलाडीसहित प्रशिक्षकसमेत अनुबन्ध गर्ने योजना बुनेको छ ।
इटालियन पत्रिका ‘टुटो स्पोर्टस्’ मा प्रकाशित रिपोर्टअनुसार युभेन्टसले समरमा स्पेनिस रियल मड्रिडका लेफ्ट ब्याक मार्सेलो र प्ले मेकर इस्कोलाई एकसाथ भित्र्याउने योजना बुनेको छ । युभेन्सले गत सिजनमा रियलबाटै क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको थियो ।
युभेन्टसले हाल टोलीमा रोनाल्डोसँग सेट मिलाउन रियलमा छँदाका उनका खास साथीसमेत रहेका मार्सेलोलाई विशेष प्राथमिकतामा राखेको छ । मार्सेलोले पनि रियल छाड्ने तयारी गरेको खबर आइरहेका छन् ।
त्यसैगरी, हाल रियलको टिममा स्थान बनाउन संघर्ष गरिरहेका इस्कोसमेत भित्र्याउन यभेन्टसले प्रयास गरिरहेको छ । रियलका प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा इस्कोले टोलीमा स्थान पाइरहेका छैनन् ।
यता, रियलले आगामी समर सिजनमा नयाँ प्रशिक्षकसमेत भित्र्याउने सम्भावना छ । हालका प्रशिक्षक मासिमिलानो एलेग्रीले यो सिजन युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन नसके अर्को सिजन युभेन्टसले एलेग्रीको ठाउँमा रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउने विशेष योजना बुनेको खबरमा उल्लेख गरिएको छ ।
जिदानले गत सिजनको अन्त्यसँगै रियल छाडेका थिए । रियलमा अढाई वर्ष बिताउँदा उनले लगातार तीन च्याम्पियन्स लिग र एक ला लिगासहित विभिन्न ९ उपाधि जितेका थिए । जिदान रियलको इतिहासमा सर्वाधिक सफल प्रशिक्षक मानिन्छन् ।
त्यसमा पनि रोनाल्डो र मार्सेलोसँग विशेष सम्बन्ध रहेका जिदान यदि युभेन्टसले मार्सेलो पनि भित्र्याउन सके युभेन्टस जाने सम्भावना रहेको बताइन्छ ।










