विराटनगर,फागुन २१
प्रदेश नम्बर १ का महिलाहरुको अवस्था एवं सवालहरुको पहिचान गरि लैंगिक निति तर्जुुमागर्ने उद्धेश्यले विराटनगरमा प्रदेशस्तरीय महिला सम्मेलन सुरु भएको छ । नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा एक सय ३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ सहभागी छन् । सम्मेलन मंगलबारसम्म चल्नेछ। प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीले सम्मेलन उद्घाटन गर्दै प्रदेश सरकार गठन भई कार्य संचालनसमेत गरिरहेको अवस्थामा संसदबाट विभिन्न कानुन निर्माणले गति लिएको बताए ।

यस्तै उपसभामुख सरस्वती पोखरेलले अपेक्षा गरेजस्तो राज्य संचालनका विभिन्न तहमा महिलाको सहभागिता बढ्न नसकेको बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सम्मेलनबाट प्रदेशभरका महिलाले भोग्नु परेको समस्या र उनीहरुको अधिकारको पैरवीको विषयमा निचोडमा पुग्न सकिने बताए ।
उनले विराटनगर घोषणापत्र महिला अधिकारको पक्षमा कोशेढुंगा सावित हुने समेत दाबी गरे। नीति निर्माण तहमा महिला सहभागिता र नेतृत्वको विषयमा छलफल गर्न प्रदेशस्तरीय दुईदिने महिला सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा १ सय ३५ स्थानीय तहका उपप्रमुख, प्रदेशसभामा महिला सदस्य र गैरसरकारी संस्थाका विज्ञ, महिला मानवअधिकारकर्मीको सहभागिता रहेको छ ।