विराटनगर, फागुन २२
नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश नम्वर १ का संयोजक देवराज भण्डारी सहित मोरङ निर्वाचन क्षेत्र नम्वर ३ का २ सय ८ जना नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मोरङको पथरीशनिश्चरेमा बुधबार नेकपाले आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संघीय मामिला मन्त्री भानुभक्त ढकालले नवप्रवेशीहरुलाई स्वागत गर्दै एकता र सहकार्यले मात्र मुलुक समृद्ध हुने बताए ।
मन्त्री ढकालले नयाँशक्तिका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पनि अन्ततः आउने ठाउँ पूरानै घरका रुपमा रहेको नेकपा नै भएको जनाए । उनले मुलुकको समृद्धिका लागि आउँदो वर्षबाट सरकारले गियर बदलेर गति लिने जनाए ।
सुकुम्वासी सहितका बसोवासको समाधान गर्न सरकारले निर्माण गरेको कानून अन्तिम चरणमा पुगेको जनाउँदै पथरीशनिश्चरेमा निर्माण हुने प्रदेशकै गौरवको आदिवासी जनजाति सहितको बहुजातिय साँस्कृतिक संग्रहालयको प्रक्रिया अघि बढेको जानकारी गराए ।
पार्टी प्रवेश कार्यक्रममा, नयाँशक्तिका केन्द्रीय परिषद सदस्य चिन्तामणि पोखरेल, भूपाल ठटाल, नगेन्द्र रिजाल, प्रदेश सदस्य एवम् पूर्व जनमुक्ति सेनाका मोरङ संयोजक जितबहादुर रसाइली, प्रदेश सदस्य एवम् ३ नम्वर क्षेत्रीय संयोजक पर्शुराम मिश्रसहित पार्टीमा प्रवेश गरेका छन ।