काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्गः पावर चाइनाको लगानी स्वीकृति गरेर निर्माण

काठमाडौं ,फागुनन २३

Advertisement

काठमाडौं-कुलेखानी-हेटौँडा सुरुङ मार्ग बनाउने भन्दै गठन भएको नेपाल पूर्वाधार विकास कम्पनीले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीले चैत ९ गतेको बिशेष साधारण सभाबाट पावर चाइना कम्पनीको लगानी भित्र्याएर निर्माणको काम आरम्भ गर्ने निर्णय गर्न लागेको हो ।

नेपाल पूर्वाधार विकास कम्पनी र पावर चाइनाबिची २०७५ साउन ९ गते संयुक्त विकास सम्झौता(जेडिए)मा सम्झौता भएको थियो ।कम्पनीले बिशेष साधारण सभाबाट सो सम्झौता अनुमोदन गर्ने र केन्द्र तथा प्रदेश सरकारसँगको समन्वयमा तुरुन्तै निर्माण आरम्भ गर्ने कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले जानकारी दिए ।

Advertisement

बिशेष साधारण सभाले हालसम्म सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने, कम्पनीको हालसम्मको अवस्था र भावी कार्ययोजना तय गर्ने, आगामी साधारण सभासम्मका लागि नयाँ कार्यसमिति चयन गर्ने, लेखा परिक्षक नियुक्त गर्ने र साधारण सभाको मिति तथा स्थान तय गर्नेछ । ‘बिशेष साधारण सभाले आगामी कार्ययोजना तय गर्नेछ, पावर चाइनासँगको सम्झौता अनुसार प्रदेश र केन्द्र सरकारसँग मिलेर तुरुन्तै निर्माण आरम्भ गर्छाै’, सञ्चालक ठकुरीले भने । आयोजनामा पावर चाइनाले ९५ प्रतिशतसम्म लगानी गर्ने सहमती गभएको छ ।

पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मा समेत लिएको छ । नेपाल पूर्वाधारको विस्तृत प्राविधिक योजना पुनरावलोकन तथा विगत ३० महिनादेखि पटक पटक आयोजना क्षेत्रको स्थलगत भ्रमण गरेर पावर चाइनाले १३ जनवरी २०१८ मा प्राविधिक प्रस्ताव समेत पेश गरेको थियो । पुनरावलोकन पश्चात यस आयोजनामा सडकको कूल लम्वाई मध्ये ४४ किलोमिटर सुरुङ्ग तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ ।

Advertisement

सन् २०१५ डिसेम्वरदेखिको लगातारको आपसी छलफल तथा विचार विमर्शको परिणाम स्वरुप नेपाल पूर्वाधारले पावर चाइनासँग २०१७ मेमा चीनको बेइजिङ्गमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनको अवसरमा ईपीसी ठेक्कामा हस्ताक्षर गरेको थियो । पावर चाइना सिनो हाइड्रो लगायत ९८ वटा सहायक कम्पनी रहेका छन । पावर चाइना सिनो हाइड्रो मार्फत नेपालमा विगत ३० वर्षदेखि जलविद्युत तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न रहेको छ । नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकार समक्ष पेश गरी सकेको छ ।

ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, भिमफेदी गाउँपालिका हुँदै हेटौडा उप महानगरपालिकामा काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङमार्ग जोडिने छ । ५० मिटरको राइट अफ वे हुने यो सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमति किनारका ७ वटा दाहसंस्कार स्थल प्रभावित हुनेछ ।

नेपाल पुर्वाधार विकास कम्पनी २०६८ भदौ २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता (पिपिए) गरि अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर औपचारिकता पाएको थियो ।

कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङ मार्ग निर्माणको अन्तिम स्विकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐन अन्तर्गत सरकारले पूर्वाधार विकास कम्पनीलाई यो परियोजना सुम्पेको हो । कम्पनीले निर्माण पश्चात ३० वर्षसम्म सञ्चालन गरेर सुरुङ मार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नु पर्ने सम्झौतामा छ । २०७० कात्तिक २५ गते सुरुङमार्गको शिलान्यास भएको थियो ।विभिन्न तीन स्थानमा करिब ४.५ किलोमिटर सुरुङ निर्माण गरिनेछ । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top