काठमाडौँ, फागुन २४
अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ पाइरेसी भएको छ । फिल्मलाई युट्युबमा ‘प्रेम किंग चान’ नामक एक युट्युब च्यानलबाट हलमा फिल्म हेर्दै गर्दा मोबाइलबाट खिचिएको पूरा फिल्म दुई दिन अगाडि अपलोड गरिएको छ ।
फिल्म हेर्ने दर्शकको संख्या भने कम नै छ तर पाइरेसी भएको यो फिल्म विस्तारै डाउनलोड र सामाजिक सञ्जालमा भाइरल हुने देखिएको छ ।
बलियो कानुन नहुँदा फस्टाईरहेको अनलाइन पाइरेसीको मारमा ‘क्याप्टेन’ पनि परेको हो ।
बिशेषतः प्रदर्शन भईरहेका फिल्म एक्कासी अनलाइनबाट पाइरेसी हुँदा निर्माताले लाखौंको घाटा बेहोर्नु पर्ने अवस्था हुन्छ । यसअघि प्रदर्शनरत अवस्थामा ’बाटो मुनिको फूल’, ’छड्के’, ’ड्रिम्स’, ’छक्का पञ्जा’ लगायत थुप्रै फिल्म अनलाइन पाइरेसी भएका थिए ।

शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन सुरु गरेको ‘क्याप्टेन’ पाइरेसी भएपछि अब त्यसको प्रत्यक्ष असर अन्तर्रा्ष्ट्रिय बजारमा पुग्नेछ । फिल्मले पहिलो हप्ता राम्रो व्यापार गरेको थियो । नेपालका प्रतिक्षीत फिल्महरु पाइरेसी हुँदै आएको रिपोर्ट छ ।अर्काको सम्पति अवैधानिक रुपमा प्रयोग गर्नु, अपलोड गर्नु, सेयर गर्नुलाई जघन्य अपराध मानिन्छ ।
‘क्याप्टेन’ फुटबलरको कथामा आधारित भएर निर्माण भएको फिल्म हो । यसमा अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । दीवाकर भट्टराई निर्दे्शित फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् । यसमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, सुनिल थापा, विल्सन विक्रम राईलगायतका कलाकारहरुको अभिनय छ ।









