विराटनगर, फागुन २६
काठमाडौ बाहिर पहिलो पटक विराटनगरमा यही फागुन २८ गतेदेखि हुन गईरहेको साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि पाकिस्तान र आफगानिस्तान बाहेक सबै देशका खेलाडी विराटनगर आइपुगेको एन्फाले जनाएको छ । फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशालाको मर्मत सकिएको छ ।
यस्तै खेलाडीको चेन्जिङ रुम निर्माण लगायतका सम्पूर्ण काम पनि सम्पन्न भएको एन्फाले जनाएको छ । प्रतियोगिता काठमाडौं बाहिर पहिलो पटक हुन लागेकोे भएरपनि आवश्यक पूर्वाधारको मर्मत तथा निमार्णका लागि लामो समयदेखि काम भईरहेको थियो । प्रतियोगिताको तयारी ९९ प्रतिशत सकिएको एन्फा उपाध्यक्ष तथा खेल तयारी समितका संयोजक पंकजविक्रम नेम्वाङले बताएका छन् ।
‘अब केही प्राविधिका विषयहरु मात्र बाँकी होलान’ उनले भने ‘प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएका छन् । प्रतियोगिताका लागि नेपालीबाहेक खेलाडी र प्रशिक्षकसहित दुई सयजना विदेशी पाहुना विराटनगर आइपुगेका छन् ।’
खेलाडीको अभ्यासका लागि डीपीएस मैदान, प्रदेश प्रहरी तालिम केन्द्र रानीको मैदान र विराटनगर जुट मिलको मैदान स्तरोन्नति गरि सकिएको छ । खेलाडी, अफिसियल, प्रशिक्षक तथा प्रतियोगितासँग सम्बन्धित व्यक्तिकाको बसोबासको लागि विराटनगरका ५ वटा होटल बुक गरिएको पनि एन्फा उपाध्यक्ष नेम्वाङले बताएका छन् ।
फागुन २८ गते हुने पहिलो उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपाल समूह ए मा छ । यस्तै भुटान र बंगलादेश पनि समूह ए मा नै छन् । चारपटकको बिजेता भारतसहित श्रीलंका र माल्दिभ्स समूह बी मा छन् । अन्तिम समयमा पाकिस्तानले सहभागिता नजनाउने बताएको थियो ।