काठमाडौं : न्यायपालिकाले दोषी ठहर गरे पनि करिब एक लाख ३५ हजार व्यक्ति अझै कानुनको पहुँचभन्दा बाहिर छन् ।सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले न्यायपालिकाबाट दोषी ठहर भएका यति धेरै व्यक्ति कानुनको दायरामा आउन नसक्दा दण्डहीनता बढ्ने र शान्ति सुरक्षा कायम गर्नमा चुनौती थपिने जनाएको छ ।
निर्देशनालयले हालसम्म ७४ हजार २११ मुद्दामा न्यायपालिकाबाट दोषी ठहर एक लाख ३२ हजार ८५१ जना स्वदेशी र दुई हजार १३४ जना विदेशी गरी कुल एक लाख ३४ हजार ९८५ जना कैद बाहिर रहेको जनाएको छ । कारागार व्यवस्थापन विभागको गत पुससम्मको तथ्याङ्क अनुसार नेपालको ७४ स्थानमा रहेको कारागारमा १९ हजार ८५३ जना छन् । कारागारमा अटाउने क्षमताको यो दोब्बर संख्या हो ।
‘‘फैसला कार्यान्वयनलाई अझै प्रभावकारी बनाए कैदी राख्ने स्थानको थप अभाव हुन आउँछ,’’ फैसला कार्यन्वयन निर्देशनालयका प्रवक्ता यज्ञ आचार्यले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।