काठमाडौँ, चैत २०
ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यानमारबिचको खेल म्यानमारको मन्दलर थिरी रंगशालामा नेपाली समयअनुसार बेलुकी ५ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
यसअघि ओलम्पिक खेलकुदको महिला फुटबलअन्तर्गत एसिया क्षेत्र छनोटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले १–१ गोलको बराबरी खेलेको थियो । आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ ।
जापानमा २०२० मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनोटको दोस्रो चरणअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा भारतसँग ६ अप्रिलमा प्रतिस्पर्धा गर्ने छ । भारतलाई साफको बदला लिने लक्ष्यमा नेपाल हुनेछ । छनोटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्द्वी इन्डोनेसियासँग नेपालले ९ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तो छ नेपाली टिम :
गोलकिपर: एञ्जिला सुब्वा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैशी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु
मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटी, अनिता केसी
फरवार्ड : निरु थापा (कप्तान), सावित्रा भण्डारी, रेखा पौडेल