‘ट्रेल रेस’ मार्फत ‘पिके हिल’ चिनाउने प्रयास

२४ चैत ७५, सोमबार

सोलुखुम्बु, चैत २५

Advertisement

सर्वोच्च शिखरसहितको मनोरम हिमशृङ्खला र उच्च पर्वतीयत क्षेत्रका कारण विश्वमै प्रख्यात सोलुखुम्बु र जोडिएको जिल्ला ओखलढुङ्गाको उच्च डाँडाको पर्यटन प्रवद्र्धनको प्रयास थालिएको छ ।

आठ हजार मिटरका ६ हिमशृङ्खलालाई नजिकबाट नियाल्न सकिने स्थान सोलुखुम्बुको पिके हिल (पिके डाँडा) सहित आसपासका क्षेत्रलाई समेटेर पर्यटन व्यवसायी तथा स्थानीयले ‘ट्रेकिङ रुट’ तयार गरी विभिन्न गतिविधि सञ्चालन गरेका छन् । समुन्द्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको पिके डाँडालाई सरकारले गत वर्ष मात्रै प्रमुख १०० पर्यटकीय गन्तव्य क्षेत्रमा समावेश गरेको थियो ।

Advertisement

शेर्पा समुदायको संस्कृति र दृष्यावलोकनका लागि आकर्षक गन्तव्य मानिने सोलुखुम्बुको लिखुपिके गाउँपालिका र ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकालाई जोडेर नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संयुक्तरुपमा पर्यटन प्रवद्र्धन अभियान थालिएको ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङ्वाङ्निमा शेर्पाले जानकारी दिए । छिटफुटरुपमा ट्रेकिङमा पर्यटक आउने भए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा आकर्षक पर्यटकीय गन्तव्य पिके हिल ओझेलमा परेकाले यस वर्ष पहिलो ट्रेल रेस (अल्ट्रा हाफ म्याराथन) आयोजना गरेर पर्यटन प्रवद्र्धन गर्न थालिएको उनले बताए ।

‘यहाँको पर्यटन प्रवद्र्धन गर्न यसपाली पहिलो हाफ म्याराथन गर्यौ पूर्वदेखि पश्चिमसम्मका झण्डै १०० धावक दौडमा सहभागी भए, अर्को वर्ष अन्तर्राष्ट्रिय म्याराथन गर्ने सोच छ’, छोटो समयमा नजिकबाट धेरै हिमशृङ्खला हेर्न सकिने क्षेत्रलाई विश्वमा चिनाउनुपर्छ भनेर लागेका छौँ’, शेर्पाले भने ।

Advertisement

यसपटक यही चैत २३ गते भएको पहिलो हाफ म्याराथनमा ६० धावक सहभागी गराउने भनिएपछि धेरै जिल्लाबाट ९४ धावकले प्रतिष्पर्धा जनाए । सामान्य प्रचारमा यति धेरै धावक सहभागी हुँदा थप नयाँनयाँ कार्यक्रम गर्न ठूलो हौसला मिलेको समितिको भनाइ छ ।

यहाँ अन्तर्राष्ट्रिय रेकर्ड राख्न सफल अल्ट्रा धावक भीमबहादुर गुरुङसहितका खेलाडी सहभागी भएका थिए । धावक भारी हिमपातकाबीच प्रतिष्पर्धामा सहभागी भएका थिए । धावक गुरुङले यस्ता प्रतियोगिताले स्थानीय क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने उल्लेख गर्दै ट्रेकिङमा समेत पर्यटकलाई आकर्षित गराउने बताए ।

समितिका सदस्य एवं स्थानीय क्षेत्रमा म्याराथन दौड संयोजक छेपाल शेर्पाले दौडले एक खालको सन्देश गएको भन्दै आगामी दिनमा पनि कार्यक्रम गर्दै जाने बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको तल्लो क्षेत्रमा सोलुखुम्बुको पिके डाँडा र ओखलढुङ्गाको थोलेदेम्बर अवस्थित छ ।

यहाँको चुप्लुङ भञ्याङ, खिजी, फलाँटे, थोलेदेम्बा, ताक्लुङ, लाम्जुरा र पिकेलाई समेटेर ट्रेकिङ रुटसमेत तयार गरिएको छ । त्यही रुटमा यसपटक पहिलो हाफ म्याराथन आयोजना गरिएको हो । ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) का महासचिव आङ्पेम्बा शेर्पाले ट्रेकिङका लागि सो क्षेत्र भर्जिन रहेको उल्लेख गरे ।

उनले भने, ‘पिके डाँडाबाट पूर्वको कञ्जनजङ्घादेखि पश्चिममा धौलागिरिसम्मका हिमाल पानारोमामा देख्न सकिन्छ, छोटो समयमा पुगेर दृष्यावलोकन गर्न सकिने यो क्षेत्र प्रकृतिको अनुपम उपहार हो, त्यसैले टान, पर्यटन बोर्ड, नेपाल माउन्टेनरिङ एशोसिएसनलगायत सङ्घसंस्थाले सहकार्य गरेर पर्यटन विकासको प्रयास थालेको हो ।’

पिके डाँडा शेर्पा जातिको संस्कृतिसँग समेत जोडिएको छ । कुलदेवतालाई सम्झेर यहाँ शेर्पाहरु पूजाआजा गर्छन् भने हरेक साउन २ गते मेला नै लाग्ने गर्छ । शेर्पा समुदाय धुप (सुनपाती) टिप्नका लागि पनि यहाँ पुग्छन् । सो क्षेत्रबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, सगरमाथा, ल्होल्से, नुप्चे र मकालु हिमाल देख्न सकिन्छ ।

पिकेको भौगोलिक बनोट नै सुन्दर छ । काठमाडौँबाट करीब १४० किलोमिटरमा पर्ने खिजीदेम्बा धुलिखेल, खुरकोट, रामेछापको मन्थली हुँदै लिखु खोला तरेर धोबी हुँदै पुगिन्छ । शेर्पा सुमदायको बाहुल्यता रहेकाले उनीहरुको मौलिक संकृति र रीतिरिवाजको अध्ययन अनुसन्धान तथा अवलोकनका लागिसमेत यो ठाउँ प्रख्यात छ ।

केही वर्षअघिबाट सञ्चालनमा आएको पिकेदेम्बा ट्रेलका कारण यहाँ विस्तारै स्वदेशी र विदेशी पर्यटकसमेत आउन थालेका छन् । प्रकृतिको सुन्दरतामा यहाँ विदेशी मन्त्रमुग्ध हुने गरेका स्थानीय पिके बेसक्याम्पका होटल व्यवसायी झङ्बु शेर्पाले बताए । सोलुखुम्बुका पेम्बा शेर्पाले ३६० डिग्रीको कोणमा नजिकबाट हिमाल देखिने क्षेत्र भएकाले म्याराथनजस्ता कार्यक्रम नियमित गर्नसके पर्यटकीय हिसाबले पिके आकर्षक गन्तव्य हुने उल्लेख गरे ।

भीम र सुमीले जिते म्याराथन दौड

पर्यटन प्रवद्र्धनकै लागि पुरुष र महिला छुट्टाछुट्टै समूहमा पहिलोपटक यहाँ आयोजना भएको पिकेदेम्बा हाफ म्याराथन (ट्रेक रेस) मा पुरुषतर्फ गोरखाका भीमबहादुर गुरुङ र महिलातर्फ प्यूठानकी हुमी बुढामगरले उपाधि जितेका छन् ।

यस्तै पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र ओखलढुङ्गाका देवराज बस्नेत तेस्रो भए । महिलातर्फ दोस्रोमा ओखलढुङ्गाकी कृष्णकुमारी भुजेल र सोही जिल्लाकी छोकी शेर्पा तेस्रो हुन सफल भएको आयोजक प्रतिनिधि सर्की शेर्पाले जानकारी दिए ।

उनीहरुले क्रमशः रु ५० हजार, रु ४० हजार र रु ३० हजार पुरस्कार प्रदान गरेका थिए । उत्कृष्ट आठसम्मलाई पुरस्कार दिइएको आयोजकले जनाएको छ ।-नारायण ढुङ्गाना/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top